काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनप्रति सरकार सदैव प्रतिबद्ध रहेको बताएकी छन्।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज (सोमबार) टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान-प्रदान कार्यक्रम’मा उनले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवनपद्धतिको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताइन्।

आजको समय देशले शान्ति, सुव्यवस्था, सह-अस्तित्व र स्थायित्व खोजिरहेको समय भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विविधताबीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजाने बताइन्।

सोनाम ल्होछारजस्ता पर्वले आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउने जनाउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो सांस्कृतिक पहिचान विश्वमञ्चमा पुगिरहेको बताइन्।

रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै उनले ल्होसारसँग जोडिएको पञ्चतत्त्व र स्वस्थ जीवनदर्शनले तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान र जीवनपद्धतिको गहिरो पक्षलाई उजागर गर्ने बताइन्। कार्यक्रममा तामाङ समुदायका व्यक्तिले आ-आफ्नो वेशभूषासहितको पहिरनका साथ सांस्कृतिक प्रस्तुति दिएका थिए।