निर्वाचन
यसअघि मधेसमा एक सिट पनि नजितेको रास्वपाले ‘हामी आयौँ’ भन्दै जनकपुरको उद्घोषसभाबाट गर्यो चुनावी अभियानको सुरुआत
जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चुनावी घोषणासभा सम्पन्न भएको छ। स्थानीय तिरहुतिया गाछीमा करिब एक दशकयता भएका विभिन्न राजनीतिक दलका सभामध्ये आजको सभाको उपस्थिति सबैभन्दा बढी हो।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित विभिन्न नेता कार्यकर्ताको उपस्थितिमा ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न भएको हो।
रवि र बालेन दुवैले आज मधेसको पहिचान झल्किने कुर्ता पाइजामा र गम्छा लगाएका थिए। कार्यक्रममा रविभन्दा बालेनकै क्रेज बढी देखिएको थियो। हरेक वक्ताको भाषण सकिनासाथ उपस्थित युवाहरूले ‘बालेन, बालेन’ भन्दै नारा लगाएका थिए।
बालेनले पनि उपस्थित भीडलाई निराश बनाएनन्। उनले मातृभाषा मैथिलीमै आफ्नो कुरा राखे। भाषणको अन्त्यमा पनि ‘जय मधेस’ भन्दै टुंग्याए। उनले आफू काम गर्न आएको भन्दै मधेसको जनताले मधेसको छोरलाई काम गर्न अवसर दिनुपर्ने बताए।

जनकपुरको तिरहुतिया गाछीमा आयोजित चुनावीसभाअघि शंखनाद गर्दै गर्दा डमरु बजाइरहेका बालेन। तस्बिर : बालेनको सचिवालय
आइतबार साँझ जनकपुर ओर्लिँएयता बालेनले प्रायः कमै नेपाली बोलेका छन्। सभामा त मैथिलीमै कुरा राख्दै आफू र आफ्नो पार्टी मधेस तथा संघीयताविरोधी नरहेको प्रस्ट्याए। बालेनले अब अधिकार माग्न काठमाडौँ जानुनपर्ने भन्दै पशुपतिनाथ दर्शन गर्न मात्र जाँदा हुने बताए। “जनकपुर प्रदेशको राजधानी हो,” उनले भने, “यहाँको प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानुपर्छ भने संघीयताको अर्थ के रह्यो? काठमाडौँ अधिकार माग्न जानुपर्ने ठाउँ होइन, घुम्न जाने ठाउँ हो— पशुपति, स्वयम्भू हेर्न जाने हो, अधिकार माग्न जाने होइन।”
उनले काठमाडौँ महानगरमा आफूले गरेका परिवर्तनको उदाहरण दिँदै मधेसमा पनि त्यस्तै किसिमको राजनीतिक र सामाजिक रूपान्तरण आवश्यक रहेकोमा जोड दिए। बालेनले आफू करिब चार वर्ष मेयर हुँदा मान्छेसँग नभेट्ने गरेकोमा आलोचना भए पनि आफू मूकदर्शक हुन बाध्य रहेको बताए। “मान्छेसँग भेट्दैन भन्छन्, त्यहाँ प्रत्येक दिन माइतीघर मण्डलमा उखु किसानको आन्दोलन हुन्छ। मिटरब्याजपीडितको आन्दोलन हुन्छ। म मूकदर्शक भएर बसेको छु, केही गर्न सक्दिनँ।”
उनले काठमाडौँमा रहेर ३५ वटा पालिकामा एम्बुलेन्स पठाउन सकेको भन्दै संघमा गए झन् आफूले धेरै गर्न सक्ने सुनाए। उनले काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको पनि सुनाए। “महँगो कलेजमा पढ्न फ्रि भिसा फ्रि टिकट दिइन्छ। बिनापैसाको। विदेश जानलाई होइन् पढ्नलाई,” उनले भने, “आज २० हजार विद्यार्थी बिनाकुनै पैसाको राम्रो कलेजमा पढ्छन्, यो समाजवाद हो।”
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मधेसमा रास्वपाको उपस्थिति निकै कमजोर थियो। २०७९ सालको आम निर्वाचनमा मधेस प्रदेशबाट रास्वपाले समानुपातिकतर्फ केवल एक लाख सात हजार ८४ मत प्राप्त गरेको थियो। मधेसमा त्यतिबेला मतदाता संख्या ३३ लाख ८६ हजार ६२८ थियो।
प्रत्यक्षतर्फ भने रास्वपाले मधेसमा एक सिट पनि जितेको थिएन। यसले पार्टीलाई मधेसले नपत्याएको देखिन्थ्यो। तर आजको सभाको उपस्थितिले मधेसका जनताले परिवर्तन चाहेको भन्दै आफूलाई उत्साहित तुल्याएको रास्वपाका सभापति रवि लामिछानेले बताए। “हामीले परिवर्तन चाहेका छौँ। जनताको अधिकार परिवर्तनको लागि हामीलाई साथ दिनुस्। हामी तपाईंको भाग्य र भविष्यमा परिवर्तन ल्याउने छौँ,” लामिछानेले बताए।

जनकपुरको तिरहुतिया गाछीमा आयोजित सभामा उपस्थितहरू। तस्बिर : बालेनको सचिवालय
पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिलेको संघीयता नेताहरूको व्यवस्थापन गर्ने थलो मात्रै भएको कारणले आफूहरूले उन्नत किसिमको संघीयता चाहेको बताए। “हामीले जनतालाई विकास दिने संघीयता चाहेका छौँ। त्यसैले तपाईंहरू यसलाई अन्यथा नलिनु होला,” उनले आग्रह गरे।
आजको सभामा माओवादी पार्टी परित्याग गरेका रहबर अन्सारी र पूर्वसांसद अमरेशकुमार सिंहले समेत सम्बोधन गर्दै ‘मधेसका छोरा’लाई प्रधानमन्त्री बनाउन अपिल गरेका थिए। पूर्वसांसद सिंहले भने, “मधेससँग म भिक्षा माग्न आएको छु। मधेसको छोरालाई प्रधानमन्त्री बनाउनुस् होइन भने म आत्मदाह गर्छु।”
सम्बन्धित समाचार :
जनकपुरको सभा हुनेछ पर्दापछाडिका स्ट्राइकर बालेनको मेयर निर्वाचित भएयताको पहिलो सार्वजनिक सम्बोधन
रास्वपा मधेसको परम्परागतभन्दा युवाहरूको मत तान्ने प्रयास गरिरहेको छ। आजको सभामा युवाहरूको उपस्थितिले पार्टीलाई ठूलो आश देखाएको छ। सभामा उपस्थित युवाहरूले कसलाई मत दिने भनेर निर्क्योल नगरिहाले पनि प्रायःजसो बालेन र रविलाई हेर्नका लागि आएका थिए। “उनीहरूले के कस्ता कुरा राख्छन् भन्ने सुन्न आएको हुँ,” पहिलोपटक मतदाता बनेका अञ्जनी थापा बताउँछिन्।
यस्तै अर्का स्थानीय युवा बलराम साह बालेनले सभामा राखेको विचारबाट उनी विकासको प्रस्ट खाका राख्ने नेताको रूपमा आफूले पाएको जिकिर गर्छन्। जनकपुरधाम उपमहानगरपालिका-४ का स्थानीय विनोद कान्त झा बालेनको क्रेजले मधेसको राजनीतिमा परिवर्तन आउनसक्ने बताउँछन्।
सभामा अधिकांस नेताहरू मधेसकेन्द्रित दलहरूप्रति खनिएका थिए। तर मधेसकेन्द्रित दलहरू भने बालेनको मधेस राजनीतिले खासै फरक नपर्ने बताउँछन्। जसपा नेपालका नेता परमेश्वर साह जनताले रास्वपा र बालेनलाई पत्याइहाल्ने अवस्था नरहेको बताउँछन्। उनी भन्छन्, “जनतालाई सबै कुरा थाहा छ। जनता उनको भाषणको भ्रममा पर्छन्जस्तो लाग्दैन।”
मधेसको राजनीतिमा परम्परागत दलहरूकै पकड रहेकाले अस्वाभाविक अवस्थाबाहेक खासै प्रभाव नपर्ने उनी बताउँछन्। “युवाहरूको वितृष्णा राजनीतिक दलप्रति देखिएकाले केही भीड देखियो, तर निर्वाचनमा यसले खासै प्रभाव पार्दैन,” उनले भने।