काठमाडौँ। प्रतिनिधिसभाका लागि आगामी २१ फागुनमा हुने निर्वाचनमा २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले आज साँझसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्रमा २‚९२५ जनाको मनोनयन दर्ता भएको हो।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार महिला उम्मेदवारको संख्या ३३६ र पुरुषको संख्या २‚५८९ रहेको जानकारी दिए। समावेशीतातर्फ अपांगता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको पनि आयोगले जनाएको छ। यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्या केही तलमाथि हुनसक्ने आयोगको भनाइ छ।
निर्वाचन कार्यतालिकाअनुसार भोलि (बुधबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। ८ माघमा उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे ९ माघको बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगको तयारी छ।