काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनसम्बन्धी कार्यतालिका स्थगित गरिएको छ।

एन्फा प्रवक्ता सुरेश शाहले निर्वाचन समितिबाट कार्यतालिका स्थगित भएको पुष्टि गरेका हुन्। “निर्वाचन समितिले कार्यतालिका स्थगित गरिएको हो,” उनले नेपालन्युजसँग भने।

१६ पुसमा बसेको एन्फा कार्यसमितिको बैठकले आगामी २८ माघमा साधारणसभा तथा अर्ली निर्वाचन गर्ने निर्णय बहुमतले पारित गरेको थियो। तर, उक्त निर्णय विधानविपरीत भएको भन्दै एन्फाका उपाध्यक्ष विराटजंग शाही र सदस्य रूपेश अधिकारीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएका थिए।

उजुरीपछि राखेपले विधान संशोधनसहित जिल्ला तहको निर्वाचन सम्पन्न गरेपछि मात्र केन्द्रीय निर्वाचन गर्नुपर्ने भन्दै ११ बुँदे निर्देशन एन्फालाई दिएको थियो। तर, राखेपको निर्देशन बेवास्ता गर्दै एन्फाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

यसविरुद्ध गोरखाका अमित खत्रीले राखेप र एन्फालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले २८ पुसमा निर्वाचन प्रक्रिया तत्कालअघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। साथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न ६ माघमा दुवै पक्षलाई बोलाइएको थियो।

अदालतको छलफल हुनुअघि नै ३ माघमा अध्यक्ष पदका लागि पंकजविक्रम नेम्वाङ र दीर्घबहादुर केसी (कुमार) ले उम्मेदवारी दर्ता गराइसकेका थिए। अन्य पदका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

यसैबीच मंगलबार एन्फा भ्याकेट गर्न माग गर्दै अदालत पुगेको थियो। तर, अदालतले पहिले लिखित जवाफ पेस गर्नुपर्ने भन्दै भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालतले दुवै पक्षलाई पुनः ११ माघमा छलफलका लागि बोलाएको छ। अदालतको प्रक्रियाकै बीचमा एन्फाले निर्वाचन कार्यतालिका स्थगित गर्ने निर्णय गरेको हो।