काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

क्रिकेट

समूह चरणबाट अगाडि बढ्न नेपाललाई कठिन

८ माघ २०८२
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङका क्रममा नेपाली टोली। तस्बिर : क्यान
अ+
अ-

ओपनिङमा राम्रो सुरुआत गरे पनि घरेलु टोली नेपाल आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा थाइल्यान्डविरुद्ध १२२ रनमै समेटियो। १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले मात्र दुई विकेट गुमाएर १६.५ ओभरमै खेल आफ्नो पक्षमा पार्‍यो।

आठ विकेटको उक्त हारपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले बारम्बार एउटै कुरा औँल्याइन्– मध्यक्रम चल्नै सकेन। उनले भनेको सत्य पनि थियो। ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले पहिलो पावरप्लेअघि नै ५२ रनको साझेदारी गर्दा नेपालले १५० भन्दा बढीको लक्ष्य दिने अनुमान थियो।

तर, मध्यक्रममा इन्दु आफैँ चल्न सकिनन् नै, पूजा महतो र रुविना क्षेत्री बेलबासेले पनि गतिलो प्रदर्शन गर्न सकेनन्। अपेक्षा गरेअनुसार बलियो लक्ष्य दिन नसकेकाले नेपालको सुरुआत निराशाजनक रह्यो। यद्यपि, स्कोरकार्डमा हार बेहोरे पनि इन्दुले व्यक्तिगत हार मानेकै थिइनन्। नेदरल्यान्ड्सविरुद्ध आफूसहित पूजा र रुविनाबाट सुधारिएको प्रदर्शन मात्र होइन, जितको अपेक्षा पनि उनलाई थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा रुविनाले अविजित ३७ रनको इनिङ्स खेल्दै सुधारिएको प्रदर्शन गरिन्, तर अन्य ब्याटरले पुरानो रोग निको पार्न सकेनन्। फलतः नेपाल दुई रनको पीडादायी हार बेहोर्न बाध्य भयो।

नेदरल्यान्ड्सविरुद्ध विकेट लिएपछि खुसी मनाउँदै पूजा महतो र काजल श्रेष्ठ। तस्बिर : क्यान

“अन्तिममा राम्रो साझेदारी भयो। त्यस्तै एउटा साझेदारी बीचमा पनि हुनुपर्थ्यो। तर, नचाहिने अवस्थामा धेरै विकेट गुमायौँ। हारको कारक त्यही बन्यो,” खेलपछि रुविना भन्छिन्।

लगातार ‘फ्लप’ मध्यक्रम

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य त्यति ठूलो होइन। गत वर्ष फेब्रुअरीमा नेपालले यही पिचमा नेदरल्यान्ड्सविरुद्ध नै १४५ रन बनाएको थियो। कतिसम्म भने, नेपालले यति ठूलो योगफल बनाउँदा मात्र चार विकेट गुमाएको थियो।

१० विकेटको फराकिलो हार बेहोरे पनि मध्यक्रमका इन्दु (३९ रन), पूजा (६२ रन) र रुविना (२० रन) सम्हालिँदा पहिलोपल्ट आफ्नै मैदानमा यति ठूलो रन बनाउन नेपाल सफल भएको थियो। तर, जारी प्रतियोगितामा नेपालको मध्यक्रमले त्यस खालको ब्याटिङ नै देखाउन सकेको छैन। थाइल्यान्डविरुद्धको खेलमा ६ रनमा आउट भएकी पूजाले यसपल्ट २१ बल खेलिन्। तर, एक चौकासहित आठ रन मात्र बनाउन सकिन्। इन्दु दुवै खेलमा ६ रनभन्दा अगाडि बढ्नै सकिनन्।

छैटौँ नम्बरमा उत्रिएकी रुविनाले जसोतसो ३२ बलमा पाँच चौकासहित अविजित ३७ रनको इनिङ्स खेलिन्। उनी र सीता रानामगरबीच आठौँ विकेटका लागि ४५ रनको विशाल साझेदारी भएको थियो। सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालले आठौँ विकेटका लागि गरेको यो नै कीर्तिमानी साझेदारी हो।

रोचक पक्ष, विश्व क्रिकेटमै यो सातौँ विशाल साझेदारी हो। तर, रुविना र सीताले जति नै कीर्तिमानी साझेदारी गरे पनि हार टार्न सकेनन्। “यो हाम्रै विकेट हो, फ्लाट थियो। एकै ओभरमा ८/१० रन त बनिहाल्थ्यो। तर, लगातार विकेट गुमाउन पुग्यौँ,” उनी भन्छिन्।

रुविनाले भनेजस्ते नेदरल्यान्ड्सका मिडिल अर्डरले प्रत्येक ओभरमा सातदेखि १७ रनसम्म बनाएर खेलिरहेका थिए। नेपाललाई भने पाँच रन बनाउन पनि निरन्तर संघर्ष गरिरहनुपर्‍यो। सोही कारण रुविना र सीतालाई अत्यधिक दबाब बढ्यो।

रुविनाले अविजित ३७ रन बनाउँदा सीताले १२ बलमा चार चौका र एक छक्कासहित अविजित २७ रनको इनिङ्स खेलिन्। यो इनिङ्सअघि नेपाललाई अन्तिम ओभरमा १३ रनको खाँचो थियो। तर, रुविनाले नौ रन जोड्दा सीताले एक रन मात्र बटुल्न सकिन्। योसँगै रन लिन कुदिरहेका रुविना र सीता हार मान्दै पिचको बीचमा थुचुक्कै बसे।

दुई रनले पराजित भएपछि रुविनालाई सान्त्वना दिइरहेकी सीता। तस्बिर : क्यान

“त्यो बललाई स्ट्रेट (विकेटको पछाडि) हान्न खोजेकी थिएँ, तर लागेन। सोही कारण हार बेहोर्नुपर्‍यो,” उनी भन्छिन्।

हरेक समूहबाट शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्ने समीकरण छ। त्यसैले नेपालका लागि आफ्नो सम्भावना बलियो राख्न यो खेल जित्नैपर्ने दबाब थियो। नेदरल्यान्ड्सलाई भने दुई खेल बाँकी रहँदै सुपर सिक्समा पुग्ने अवसर उत्तिकै थियो।

तर, नेपालको मिडिल अर्डरको गल्तीको फाइदा उठाउँदै नेदरल्यान्ड्स हारिसकेको खेलमा पुनरागमन गर्न सफल रह्यो। लगातारको तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर सिक्स’ मा पुग्ने पहिलो टोली बनेको छ। नेदरल्यान्ड्सले यसअघि जिम्बाबेलाई २२ र स्कटल्यान्डलाई सात रनले पराजित गरेको थियो।

दुई खेलअगावै कठिन मानिएको ढोका खोल्न पाउँदा प्रशिक्षक निल म्याकरे खुसी देखिए। “नेपाल घरेलु दर्शकका साथ खेल्दा निकै बलियो हुन्छ। इनिङ्सको अन्त्यमा त्यो महसुस गर्न सकिन्थ्यो। त्यसैले यो उच्चस्तरको खेल रह्यो। विपक्षी टोली उत्कृष्ट थियो र हामी दुई अंक लिन पाएकामा धेरै खुसी छौँ,” उनी भन्छन्।

समूह ‘बी’ बाट अगाडि बढ्ने नेपालको सम्भावना सीमित छ। नेदरल्यान्ड्सले अर्को चरणमा आफ्नो स्थान सुरक्षित गर्दा थाइल्यान्ड चार अंकसहित सुपर सिक्सको ढोकामा छ। तीन खेल खेल्न बाँकी रहेको स्कटल्यान्डको दुई अंक छ। समान दुई खेल खेलेका जिम्बाबे र नेपाल भने अंकविहीन छन्।

रुविनाको एक हजार रन

सन् २००९ यता नेपालको जर्सीमा अब्बल प्रदर्शन गरेकी रुविना टी-२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर बनेकी छन्।

मलेसियाको बायोमास ओभलमा इरानविरुद्ध खेल्दै नेपालको जर्सीमा डेब्यु गरेकी उनले बिहीबार इन्दुपछि हजार रन पूरा गर्ने कीर्तिमान बनाएकी हुन्। इन्दुले गत वर्ष अक्टोबरमा मलेसियाविरुद्धको खेलमा यो उपलब्धि हासिल गरेकी थिइन्। उनले ७७औँ खेलमा एक हजार रन पूरा गरेकी हुन्।

रुविनालाई यो उपलब्धि हासिल गर्न भने चार खेल बढी खेल्नुपर्‍यो। उनले ८१औँ खेलमा एक शतक र एक अर्धशतकसहित एक हजार पाँच रन पुर्‍याएकी छन्। नेपालका तर्फबाट पहिलो शतक प्रहार गर्ने कीर्तिमान भने उनको नाममा छ।

१३ फेब्रुअरी २०२४ मा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध २२७ रन बनाउने क्रममा उनले अविजित ११८ रनको इनिङ्स खेलेकी थिइन्। यद्यपि, बिहीबारको व्यक्तिगत उपलब्धिमा उनले कुनै खुसी साटिनन्। हारको पीडामा रहेकी उनले भनिन्, “माइलस्टोन तब मात्र क्यारी हुन्छ, जब टिमले जित्छ। कीर्तिमान बनाउने अवसर सधैँ आउँछन्। त्यसैले हजार रनभन्दा पनि आगामी खेलमा अझ ठूलो योगदान दिने पाऊँ।”