काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१४ माघ २०८२
फाइल फोटो
अ+
अ-

भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ।

प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीले सहभागिता जनाउने भएका छन्। “हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली”, नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर र भित्रका १६ वटा टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले बताए।

गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको गोल्डकपको तालिका अनुसार जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लब धरान, छथर गाउँपालिका तेह्रथुम, योङ्ग ब्वायज धरान, कोदार फुटबल क्लब भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता हुने छ।

यस्तै मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुव्वा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहाको सहभागिता हुने छ। माघ १४ देखि २३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने छ।

प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेगाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

आजको पहिलो उद्घाटन खेल नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाको बीच हुने छ।