स्टक मार्केट
कारोबार रकम आठ अर्ब नाघ्यो
काठमाडौँ। दिनभरको उतारचढावका बीच साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से झिनो अंकले बढेको छ।
हिजो (आइतबार) १९.८५ अंकले घटेको नेप्से सोमबार भने १.५३ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.०५ प्रतिशतले उकालो लागेको नेप्से २‚६९५.७३ विन्दुमा अडिएको छ।
सेन्सिटिभ इन्डेक्स भने ०.७५ अंकले घटेर ४५९.१६ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.१६ प्रतिशतले घटेको छ। नेप्सेमा सोमबार ३३० कम्पनीको ९१ हजार ६१ पटकको कारोबारमा एक करोड ७५ लाख सात हजार ७७६ कित्ता सेयर किनबेच भए। जसमा सोमबार आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६७० रुपैयाँको कारोबार भयो। नेप्सेमा हिजो (आइतबार) भने नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा पाँचवटा समूहको सूचक बढ्यो। बाँकी आठ समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.०९ प्रतिशतले घट्यो‚ विकास बैंक ०.७२ प्रतिशतले बढ्यो।
यस्तै फाइनान्स ०.८९ प्रतिशतले घट्दा होटेल तथा पर्यटन १.७७ प्रतिशतले बढ्यो।
नेप्सेमा सोमबार जलविद्युत् समूह ०.१३‚ लगानी ०.१९‚ जीवन बिमा ०.३५ प्रतिशतले घट्यो।
यसैगरी उत्पादन तथा प्रशोधन समूह १.४५ प्रतिशतले बढ्यो भने लघुवित्त समूह ०.१६ तथा म्युचुअल फन्ड ०.१० प्रतिशतले घट्यो। यस्तै निर्जीवन बिमा ०.१९ प्रतिशतले बढ्यो। अन्य समूह ०.२५ प्रतिशतले घट्यो भने व्यापार समूह मात्र ०.०२ प्रतिशतले बढ्यो।

नेप्सेमा आइतबार ११४ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको घट्यो। १३ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा सोमबार एसवाई प्यानल‚ श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले कमाए। अर्थात् यी तीन कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे।
यस्तै सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य १‚३९९ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् लिमिटेडको सेयर कारोबार भयो। आज (सोमबार) यसको ४१ करोड ४९ लाख ९९ हजार ६६२ रुपैयाँको कारोबार भएको छ। आइतबार आँखुखोलाको ५५ करोड ५२ लाख ४० हजार ७६१ रुपैयाँको सेयर कारोबार भएको थियो। आज आँखुखोलाको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३३० रुपैयाँ कायम रह्यो।