काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमान टेकअफ गर्ने क्रममा आगो लागेको छ।
बुधबार दिउँसो १:२८ बजे टर्किसको उडान नम्बर ‘टी-के ७२७’ को विमान काठमाडौंबाट उडेलगत्तै चार मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
उडान भर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएपछि चालकदलले काठमाडौं टावरलाई जानकारी गराएका थिए।
चालकदलले सिंगल इन्जिनमा उडिरहेको काठमाडौं टावरलाई रिपोर्ट गरेपछि चालकदलले इन्जिनको अवस्था जाँच गरेको थियो। जाँचका क्रममा दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्षमा पुगेपछि चालकदलले विमान कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको महाप्रबन्धक सिटौलाले बताए।
यसैबीच, उक्त विमानमा समस्या आएपछि काठमाडौं विमानस्थलले अन्य दुईवटा जहाजलाई केही समय होल्डमा राखेको थियो। अहिले टर्किसको त्यो विमान कोलकातामा सुरक्षित अवतरण भइसकेको सिटौलाले बताए।
विमानमा २२५ यात्रु‚ ११ चालक दल गरी २३६ जना थिए। सबै सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।
