काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको नेपाली कांग्रेसले राष्ट्रको हितभन्दा माथि पार्टीको हित कहिले पनि नदेख्ने बताएका छन्।

सभापति थापाले बुधबार एक भिडिओ सन्देश जारी गर्दै पार्टीको स्वार्थभन्दा माथि राष्ट्रको स्वार्थ राख्ने र सिद्धान्तसँग सम्झौता नगर्ने बताएका हुन्।

‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नुपरे बरू यसले छाड्छ। जे छाड्न परे त्यो छाड्छ। सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने यसले गर्दैन,’ सभापति थापाले भने।

उनले बदलिएको नेपाली कांग्रेस के हो भनेर एकछिन अडिएर सोच्न पनि आग्रह गरेका छन्।

‘हामीहरू नयाँ सोचका साथ आएका छौं, कांग्रेस बदलिएको भनेको सोच, संकल्प र यसको शैली बदलिएको हो,’ उनले भने, ‘नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्धविच्छेद भएको भनेको हो? पटक्कै होइन। प्रजातन्त्र, सामाजिक न्याय, विविधता, समावेशी यो हाम्रो जरा हो। नयाँ कांग्रेसले यो जराहरूलाई अझ फैलाउने हो।’

उनले गरेका गल्तीहरूलाई सच्याउने र अब पार्टी र देश यसरी चलाउँछौं भनेर मार्गचित्र प्रस्तुत गर्ने बताए। बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसका कतिपय राम्रा कुराहरूलाई अघि बढाउने पनि उनले बताए।