सूचना–प्रविधि
न राज्यको सहयोग छ, न निजी क्षेत्रकै पहलकदमी
भैंसेपाटी, ललितपुरकी एलिना कक्षपतिले सूचना-प्रविधि (आईटी) क्षेत्रमा काम गरेको १६ वर्ष भयो। सूचना-प्रविधि विषयमा स्नातक गरेलगत्तै सफ्टवेयर एडमिन नेपाल कम्पनीमा कनिष्ठ कर्मचारीमा भर्ना भएकी उनले त्यहाँ ६ वर्ष र कोड पिक्सेल्ज मिडिया कम्पनीमा परियोजना तथा उत्पादन व्यवस्थापक भएर १० वर्षभन्दा बढी काम गरिन्।
यति लामो अनुभव सँगालेकी उनी तीन महिनाअघि आफ्नै नाममा स्टार्टअप कम्पनी दर्ता गर्न काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालय पुगेकी थिइन्। त्यहाँ उनले जे भोग्नुपर्यो, त्यो उनलाई कत्ति पनि अपेक्षित थिएन।
वडा कार्यालयका कर्मचारीले अचम्मित हुँदै उनलाई सोधेका थिए, “कम्पनीमा तपाईँसँग अरु केटा मान्छे छैनन्?”
कक्षपतिले आफ्नै कम्पनी भएकाले स्वयं उपस्थित भएको बताएपछि पनि ती कर्मचारी रोकिएनन्। तिनले ‘ए, तपाईंकै पो कम्पनी हो? यहाँ मेरो कम्प्युटर बिग्रिएको छ, बनाएर देखाउनुस् त!’ सम्म भन्न भ्याए।
उक्त घटनालाई महिलाको सीप, क्षमता र विज्ञतामाथि शंका गर्ने पुरातन संस्कारको निरन्तरता मान्छिन् कक्षपति। “त्यसमाथि पनि आईटी भनेपछि पुरुषले मात्रै जान्दछन् भन्ने पूर्वाग्रही सोच जान्नेबुझ्ने भनिएकाभित्रै छ,” उनी भन्छिन्।
कक्षपतिले आईटी करिअर सुरु गरेदेखि नै महिलाप्रति लैंगिक विभेद देख्दै र भोग्दै आएकी छन्। आईटीमा प्रवेश गरेको धेरै वर्षपछि मात्रै आफूलाई परियोजना नेतृत्व गर्न दिइएको तर पुरुषले यो अवसर सहजै र छिटै पाउने उनको अनुभव छ। “परियोजना प्रमुख भएपछि पनि मलाई आफ्नै सहकर्मीले अविश्वास गर्थे। मैले नै समाधान गर्न सक्ने समस्या आइलाग्यो भने पनि मभन्दा तल्लो तहको पुरुष नेतृत्वलाई सोध्ने गर्थे,” उनी भन्छिन्, “पछि मैकहाँ आउनुपर्ने बाध्यता भएपछि मात्र ‘म्याम, तपाईंलाई यस्तो कुरा कसरी आयो’ भन्दै अचम्म मान्थे।”
‘इन्सोर्स इंक प्रालि’ नामको स्टार्टअप कम्पनी चलाइरहेकी सञ्चिता कुँवरको अनुभव पनि यस्तै छ। उनको अफिसमा नेमप्लेटमा बकाइदा लेखिएको छ- ‘सञ्चिता कुँवर, प्रबन्ध निर्देशक।’ तर त्यहाँ आउने मानिसहरूले कम्पनीका प्रमुखका रूपमा पुरुषलाई खोज्छन्। “धेरैले सर कता हुनुहुन्छ भन्दै सोध्छन्”, उनी भन्छिन्, “सार्वजनिक कार्यक्रमहरूमा जाँदा कम्पनीको प्रतिनिधिभन्दा पनि रिसेप्सनिस्टका रूपमा मलाई हेरिन्छ।”

डब्लुआईआईटीले विद्यार्थीलाई आईटीसम्बन्धी कार्यक्रम सञ्चालन गर्छ। तस्बिरः डब्लुआईआईटीको वेबसाइट
सूचना-प्रविधिमा काम गर्ने महिलाहरूको अनुभवले मात्र होइन, अध्ययनले पनि आईटी क्षेत्र महिलाका लागि अझै पनि अनुदार रहेको र यसले गर्दा यस क्षेत्रमा उनीहरूको पर्याप्त प्रतिनिधित्व हुन नसकेको देखाएको छ। प्रविधिको तीव्र विकासले आईटी क्षेत्रमा कमाइ र सम्भावना बढ्दै गए पनि महिलाका लागि यो अझैसम्म पनि अनुकूल पेशा बन्न सकेको छैन।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको श्रम सर्वेक्षण, २०१७/१८ अनुसार, नेपाली सूचना तथा सञ्चार उद्योगमा महिलाको उपस्थिति ०.५ प्रतिशत मात्र छ। यीमध्ये नेतृत्व तहमा ७.८८ प्रतिशत मात्र रहेको वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले सन् २०२५ मा प्रकाशन गरेको प्रतिवेदन ‘ब्यारियर्स टु ब्रेकथ्रुज् : वुमन इन नेपाल्स इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी ल्यान्डस्केप’ मा उल्लेख छ।
आईटी कम्पनीहरूमा कर्मचारी भर्ना र प्रोत्साहनका लागि स्पष्ट लैंगिकमैत्री नीति, कानुन र अवसरको अभावले गर्दा महिलाको उपस्थिति न्यून रहेको अध्ययनको निष्कर्ष छ। आईटी कम्पनीहरूमा कर्मचारी भर्ना र प्रोत्साहनका लागि स्पष्ट लैंगिकमैत्री नीति, कानुन र अवसरको अभावका कारण महिलाको उपस्थिति न्यून रहेको डब्लूआईआईटीको अध्ययन प्रतिवेदनको निष्कर्ष छ। अध्ययनमा संलग्न सूचना तथा सञ्चार प्रविधि रोजगार विषयमा विद्यावारिधि गरेकी अमृता शर्मा भन्छिन्, “कलेज तहमा नै आईटी/इन्जिनीयरिङ पढ्ने छात्राहरूको संख्या कम छ, यसले गर्दा आईटीमा नवप्रवेशी महिला कम हुने नै भए। त्यसमा पनि नेतृत्वदायी भूमिकामा पुग्न कम्तीमा ५/६ वर्षको अनुभव चाहिन्छ, विवाह, सन्तान, परिवार सम्हाल्नुपर्ने जिम्मेवारीका कारण पेशाबाट पलायन हुनुपर्ने समस्या पनि छ।”
राष्ट्रिय जनगणना, २०७८ ले पनि देशभर कक्षा ११ देखि माथिल्लो तहमा कम्प्युटर तथा सूचना-प्रविधि पढेका महिला ११ हजार ७८ जना अर्थात् २४.१४ प्रतिशत मात्रै रहेको देखाएको छ।
डब्लुआईआईटीले नै दुई वर्षअघि गरेको सर्वेक्षणमा सहभागी कुल आईटी कम्पनीमध्ये ७७.४ प्रतिशतसँग महिला कर्मचारी भर्नाबारे कुनै विशेष प्रावधान नरहेको पाइएको थियो। तीमध्ये ६५.७ प्रतिशतसँग महिला जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रम नै थिएन।
अहिले जेजति महिलाले आईटीमा करिअर बनाएका छन्, उनीहरूमध्ये अधिकांश स्वउत्प्रेरणाबाटै यो स्थानमा पुगेका हुन्। “म पनि सेल्फ मोटिभेसनबाटै आएकी हुँ,” दमौली जन्मघर भई हाल जमलमा काठमाडौँ डिजिटल मार्केटिङ इन्स्टिच्युट चलाइरहेकी श्वेता शेरचन भन्छिन्। उनले भारतको बेंग्लोरबाट ‘कम्प्युटर एप्लिकेसन’ मा स्नातक गरेपछि आईटीमा काम थालेको एक दशक भयो।
डब्लूआईआईटीका अनुसार आईटी क्षेत्र विस्तार भइरहेको भए पनि सबैका लागि समान अवसर छैन। ग्रामीण तथा सीमान्तीकृत समुदायका महिलाका लागि यो क्षेत्रमा प्रवेश झनै कठिन छ। राष्ट्रिय जनगणना, २०७८ ले पनि देशभर कक्षा ११ देखि माथिल्लो तहमा कम्प्युटर तथा सूचना-प्रविधि पढेका महिला ११ हजार ७८ जना अर्थात् २४.१४ प्रतिशत मात्रै रहेको देखाएको छ।

आईटी कर्मचारीहरू। तस्बिर: एलिना कक्षपतिको फेसबुक
डब्लुआईआईटीको प्रतिवेदनले महिला र छात्राहरूलाई यस क्षेत्रमा प्रोत्साहन गर्न सरकारले छात्रवृत्ति र भोकेसनल तालिम प्रदान गर्नुपर्ने, आईटी केन्द्रित पाठ्यक्रम लागू गर्नुपर्ने सुझाव दिएको छ। अरु क्षेत्रमा जस्तै आईटी क्षेत्र समावेशी हुन जरुरी रहेकाले महिला प्रतिनिधित्व हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ बताउँछिन्। “महिला अरुभन्दा काममा केन्द्रित हुन्छन्, इमानदार हुन्छन्। उनीहरूको प्रतिनिधित्वले उत्पादकत्व र गुणस्तर बढाउँछ,” उनी भन्छिन्, “दुर्भाग्य के छ भने महिलालाई अवसर दिन न राज्यले न निजी क्षेत्रले नै आवश्यक पहल गरेको छ।”
सूचना-प्रविधि विज्ञ शर्मा पनि राज्य र निजी क्षेत्रका साथै परिवार, विद्यालयले पनि छात्राले आईटीमा काम गर्न सक्छन् भनेर प्रेरित गर्नुपर्ने बताउँछिन्। “केटीहरू आफैँले पनि म जुनसुकै क्षेत्रमा अब्बल हुन सक्छु भन्ने आँट गर्नुपर्छ,” उनी भन्छिन्।
केही वर्षयता महिलाद्वारा नै स्थापित केही कम्पनीले छात्रालक्षित आईटी कार्यक्रम सञ्चालन गर्न थालेका छन्।
काठमाडौँ डिजिटल मार्केटिङ इन्स्टिच्युटकी सञ्चालक शेरचन पारिवारिक जिम्मेवारीसँगै आईटी करिअरलाई निरन्तरता दिने उदाहरणीय महिलाहरू देखिए धेरैका लागि प्रेरणा बन्न सक्ने बताउँछिन्।
केही वर्षयता महिलाद्वारा नै स्थापित केही कम्पनीले छात्रालक्षित आईटी कार्यक्रम सञ्चालन गर्न थालेका छन्। काठमाडौँको स्मार्ट चेली आईटी कम्पनीले पाँच वर्षयता सामुदायिक विद्यालयका छात्रालक्षित विज्ञान, प्रविधि, इन्जिनीयरिङ र गणित विषयको पढाइमा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्मार्ट चेलीकी कार्यकारी प्रमुख प्रतिक्षा पाण्डे संस्थाले विद्यार्थीकालमै छात्राहरूमा आईटीमा रुचि जगाउने प्रयासस्वरूप कोडिङ र डिजाइनिङजस्ता सीप सिकाइरहेको बताउँछिन्।
स्मार्ट चेली कम्पनीको अवधारणामा पाण्डेको अनुभव जोडिएको छ। सन् २०१२ मा उनले इन्जिनीयरिङ पढ्दा ४० जना विद्यार्थीमध्ये तीन जना मात्रै केटी थिए। यसको कारण खोतल्दा विद्यालय तहमै आईटीमा रुचि जगाइदिने तत्वको अभाव भएको थाहा पाएपछि यो कम्पनीको स्थापना गरेर छात्रा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछिन्।