प्रतिनिधिसभा निर्वाचन/ चितवन
देशको राजनीतिक भविष्यकै लागि निर्णायक चितवनका मतदाता
त्यसो त देशभर नै चुनाव लागेको छ। तर, चितवनको चहलपहल विशेष छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उम्मेदवारीसँगै भरतपुर महानगरकी पूर्व मेयर रेणु दाहाल, काठमाडौं छोडेर चितवन आएकी सोविता गौतम र समाजसेवी मीना खरेलका कारण यतिबेला यो जिल्ला चुनावी चर्चाको उत्कर्षमा छ।
चितवन–२ मा लामिछानेसँग प्रतिस्पर्धामा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार खरेलको घरदैलो अभियानले चर्चा बटुलेको छ। उनी जहाँ पुगिरहेकी छन्, मतदाताले आत्मीयतापूर्वक स्वागत गरिरहेका छन्। उनको स्वागतका भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्।
त्यस्तै, चितवन–३ मा उम्मेदवार बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेणु दाहाल र रास्वपाकी सोविता गौतमबीचको प्रतिस्पर्धा पनि चर्को छ। दाहाल भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उम्मेदवार बनेकी हुन् भने गौतम काठमाडौं–२ की पूर्व सांसद हुन्।

चुनाव प्रचारका क्रममा चितवन- २ की कांग्रेस उम्मेदवार मीना खरेल।
उसो त २०७९ सालको निर्वाचनमा पनि चितवनले राष्ट्रिय राजनीतिको ध्यान तानेकै थियो। रास्वपा सभापति लामिछानेको प्रतिस्पर्धासँगै रास्वपाले दुई क्षेत्रमा भारी मतसहित जित हासिल गरेपछि यो जिल्ला एक हिसाबले रास्वपामय बनेको थियो।
त्यसभन्दा अघि २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीले चितवनलाई चुनावअघि नै चर्चित बनाएको थियो। चितवन–३ बाट प्रतिस्पर्धामा उत्रिएका दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेलाई १० हजारभन्दा बढी मतले पराजित गरेका थिए।
रास्वपा उदाएको जिल्ला
रास्वपा सभापति लामिछाने र चितवनको सम्बन्ध खासै पुरानो भने होइन। लामिछाने न्युज २४ टेलिभिजनमा कार्यरत रहँदा उनका पूर्वसहकर्मी शालिग्राम पुडासैनी २० साउन २०७६ मा चितवनको एक होटलमा मृत भेटिएका थिए। मृत्युपूर्व लामिछानेको नाम लिँदै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको भेटिएपछि प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा मुद्दा दायर गरेको थियो।
लामिछाने चितवनमा हिरासतमा रहँदा उनका समर्थकहरूले दिनहुँ भरतपुरको चौबिसकोठी र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए। सो घटनाबाट झन् चर्चित बनेका लामिछानेले सफाइ पाएपछि चितवनमा सभा पनि गरे। पछि रास्वपा गठन गरेपछि चितवनमा घरसमेत किने।

रास्वपा सभापति रवी लामिछाने। फाइल तस्बिर : नेपाल फोटो लाइब्रेरी
२०७९ सालमा चितवन–२ बाट चुनाव लडेका लामिछानेसहित जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चितवन–१ बाट हरि ढकाल र चितवन–२ बाट सभापति लामिछाने विजयी भएका थिए। चितवन–३ मा भने राप्रपा उपाध्यक्ष विक्रम पाण्डे विजयी हुँदा रास्वपाकी जिता बराल तेस्रो स्थानमा रहेकी थिइन्।
रास्वपा यसपटक जिल्लाका तीनै निर्वाचन क्षेत्र जितेर ‘क्लिन स्वीप’ गर्ने योजनामा छ।
यसपटकको निर्वाचनमा पनि चितवन–१ र २ बाट ढकाल र लामिछाने नै उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर ३ मा बरालको ठाउँमा गौतम उम्मेदवार बनेकी छन्। रास्वपा यसपटक जिल्लाका तीनै निर्वाचन क्षेत्र जितेर ‘क्लिन स्वीप’ गर्ने योजनामा छ।
यसपालिको निर्वाचनमा चितवनका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुने रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुसाल बताउँछन्।
“२०७९ को निर्वाचनमा १ र २ नम्बर क्षेत्रमा भएको विजयले निरन्तरता पाउने छ। त्यसबेला ३ नम्बर क्षेत्रमा पाएको मत पनि सन्तोषजनक नै थियो,” उनी भन्छन्, “त्यसबेला समानुपातिकमा पाएको २८ हजार मत संरक्षण गर्दै थप मत प्राप्त गर्न नागरिकका सुझाव–सल्लाहअनुसार अघि बढेका छौं।”
यसपटक क्षेत्र नम्बर ३ मा पार्टीको केन्द्रीय नेताको उम्मेदवारी रहेकाले जित सुनिश्चित रहेको उनको दाबी छ। रास्वपा सभापति लामिछानेले पनि बारम्बार चितवनलाई ‘निलो क्रान्तिको उद्गमस्थल र प्रशिक्षण केन्द्र’ भन्दै आएका छन्।
उम्मेदवार र स्थिति
चितवन–१ मा तीन स्वतन्त्रसहित १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। रास्वपाका ढकाल, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा (एमाले)का दावादोर्जे लामाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
कांग्रेसका बुर्लाकोटी नयाँ अनुहार होइनन्। उनी २०७४ सालको निर्वाचनमा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए। पाण्डेले ५१ हजार ८० मत ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरेका थिए। एमालेका लामा बागमती प्रदेशका पूर्व सहकारी तथा कृषिमन्त्री हुन्।
२०७९ सालको निर्वाचनमा भने यस क्षेत्रमा रास्वपाका ढकाल ३४ हजार २१८ मत ल्याएर विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६३४ र कांग्रेसका विश्वनाथ पौडेल (अहिलेका गभर्नर)ले २५ हजार २२ मत पाएका थिए। यस क्षेत्रमा कुल १ लाख ४९ हजार ६२१ मतदाता रहेका छन्, जसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० महिला छन्।
चितवन–२ मा २०७४ सालको निर्वाचनमा विजयी एमालेका कृष्णभक्त पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा कांग्रेसका शेषनाथ अधिकारी २७ हजार ३१४ मतमै सीमित भएका थिए।
त्यसपछिका २०७९ सालको आमनिर्वाचन र २०८० सालको उपनिर्वाचन दुवैमा यस क्षेत्रबाट रास्वपाका सभापति लामिछाने निर्वाचित भए। २०७९ सालमा उनले ४० हजार ३०० मत पाएका थिए। नागरिकता विवादपछि सांसद पद गुमेपछि २०८० मा भएको उपनिर्वाचनमा उनै लामिछानेले ५४ हजार २७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत मात्र पाएका थिए।
लामिछानेसँग यस क्षेत्रमा कांग्रेसकी मीना खरेल र एमालेका उम्मेदवार अस्मिन घिमिरे प्रतिस्पर्धा गर्दैछन्।
पछिल्लो निर्वाचन मिति घोषणापछि २२ माघमा पहिलोपटक लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा आएका छन्। रास्वपाले ५ माघमा जनकपुरमा गरेको आमसभापछि अर्को आमसभा चितवनमा गर्ने बताइएको थियो। तर, आमसभाका क्रममा खुट्टामा चोट लागेपछि उपचार गराइरहेका उनी भर्खरै मात्र तंग्रिएका छन्। उनले आफ्नो उम्मेदवारी दर्तासमेत वारेसमार्फत दिएका थिए। रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीले लामिछानेको उम्मेदवारी दर्ता गराएकी थिइन्।
लामिछानेसँग यस क्षेत्रमा कांग्रेसकी मीना खरेल र एमालेका उम्मेदवार अस्मिन घिमिरे प्रतिस्पर्धा गर्दैछन्। कांग्रेस महासमिति सदस्यसमेत रहेकी खरेल तीन दशकदेखि जिल्लाको सामाजिक क्षेत्रमा सक्रिय छिन्। एमालेका घिमिरे विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन्।
कुल २३ उम्मेदवार प्रतिस्पर्धामा रहेको चितवन–२ मा १ लाख ३७ हजार १५२ मतदाता छन्। तीमध्ये ६७ हजार ८५७ पुरुष, ६० हजार २९४ महिला र एक जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन्।
जताततै ‘रेणु–सोविता’
यतिबेला चितवनका तीनै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी चासो र चर्चा क्षेत्र नम्बर ३ को छ। कारण हो—दुई चर्चित उम्मेदवार रेणु दाहाल र सोविता गौतमबीचको प्रतिस्पर्धा।
भरतपुर महानगरमा दुई पटक मेयरमा निर्वाचित नेकपा नेत्री दाहाल यसपटक प्रतिनिधि सभामा पुग्ने योजनामा छिन्। उनी आफू मेयर हुँदा गरेका काम देखाएरै भोट मागिरहेकी छन्। गाउँ–गाउँमा मतदाताले उत्साहका साथ स्वागत पनि गरिरहेका छन्।
गत निर्वाचनमा काठमाडौं–२ बाट विजयी रास्वपा नेत्री गौतम पनि घरदैलो अभियानमा सक्रिय छिन्। उनले स्वागतसँगै मिश्रित प्रतिक्रिया पाइरहेकी छिन्। नयाँ भूगोल भएकाले जितका लागि उनले अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ।

चुनावी सम्बोधनका क्रममा अभिवादन फर्काउँदै चितवन-३ बाट रास्वपाकी उम्मेदवार सोविता गौतम।
दुई चर्चित अनुहारसँगै कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ पनि प्रतिस्पर्धामा छन्। पाका नेता गुरुङ २०६४ सालमा संविधान सभाका उम्मेदवारसमेत बनेका थिए। तर, माओवादीका चित्रबहादुर श्रेष्ठसँग पराजित भएका थिए। यही क्षेत्रमा एमालेले पर्यटन व्यवसायीसमेत रहेका शंकर थपलियालाई उम्मेदवार बनाएको छ।
गत निर्वाचनमा यस क्षेत्रबाट विजयी राप्रपा नेता विक्रम पाण्डे यसपटक चुनावी प्रतिस्पर्धामा छैनन्। उनको स्थानमा राप्रपाले दीपक थापामगरलाई उम्मेदवार बनाएको छ। उनी पार्टीका भरतपुर महानगर कमिटी अध्यक्ष हुन्। उनीहरूसँगै यस क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
चितवन–३ को चुनावी इतिहास रोचक देखिन्छ। २०७४ सालमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए। त्यसबेला दाहाल एमाले–माओवादी गठबन्धनका उम्मेदवार थिए भने पाण्डेलाई कांग्रेसले समर्थन गरेको थियो।

घरदैलो कार्यक्रममा नेकपाकी प्रतिस्पर्धी रेणु दाहाल।
यस्तै, २०७९ सालमा भने राप्रपाका पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए। माओवादीका भोजराज अधिकारी २५ हजार ८२४ मतसहित दोस्रो भएका थिए भने १४ हजार ८४३ मत पाएकी रास्वपाकी जिता बराल तेस्रो स्थानमा रहेकी थिइन्। त्यतिबेला कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले १२ हजार २७५ मत पाएका थिए। उनलाई एमालेले समर्थन गरेको थियो।
चितवन–३ मा कुल १ लाख ५५ हजार ३०९ मतदाता छन्, जसमा ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र एक जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन्।
संविधान जारीपछिको तेस्रो आमनिर्वाचनमा पहिलोपटक कांग्रेस, एमाले र माओवादी आधिकारिक रूपमा तालमेल नगरी प्रतिस्पर्धामा उत्रिएका छन्। यी पार्टीका मतदाताले लामो समयपछि आफ्नै पार्टीको चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्। यसले खासगरी रास्वपाकी गौतम र नेकपाकी दाहाललाई केही असर गर्न सक्ने अनुमान गरिएको छ।
चितवन–३ मा कुल १ लाख ५५ हजार ३०९ मतदाता छन्, जसमा ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र एक जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन्।
चितवन–२ का मतदातासमेत रहेका विश्लेषक डा. जीवन क्षेत्री समग्र देशमा जस्तै चितवनमा पनि चुनावमा जनजीविकाका मुद्दाभन्दा व्यक्ति हावी भएको बताउँछन्। “चुनाव पूरै व्यक्ति केन्द्रित हुन थालेका छन्। मानिसका मुद्दा हराइरहेका छन्,” उनी भन्छन्।
चितवनमा शहरी क्षेत्र बढी भएकाले शहरी विकासको खाका, जीवनस्तर सुधार, दिगो विकास, वातावरण, खाद्य सुरक्षा, रोजगारी सिर्जनाजस्ता विषय चुनावी मुद्दा बन्नुपर्नेमा त्यसबारे छलफल नै नभएको उनी बताउँछन्। “दुर्भाग्य के भएको छ भने एउटा वडा अध्यक्षले गर्ने स्तरको बहस संघीय संसदमा पनि भइरहेको छ। बाटो–पुलजस्ता विषय चुनावी एजेन्डा बनेका छन्,” क्षेत्री भन्छन्, “मतदाताले पनि बाटो–पुल पालिका र प्रदेशसँग माग्ने हो। हामी मतदाता पनि अनुत्तरदायी भयौं, नेता अझै अनुत्तरदायी भए। यही कारण व्यक्ति–केन्द्रित राजनीति सुरु भएको हो। २०६४ सालको चुनावदेखि सुरु भएको यो दुष्चक्र नदोहोरियोस् भन्न अब मुद्दामा बहस हुनुपर्छ।”