काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन गरेको आरोपमा दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ विरुद्ध आयोगले घुस लेनदेन र अदालतमा बयान फेरेको आरोपमा आज मुद्दा दायर गरेको हो।

उनीहरूले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसँग मिलेर जग्गा मोही बाँडफाँड र नामसारीका लागि २४ लाख ५० हजार रूपैँया घुस दिएको पुष्टि भएको र सोही मुद्दामा तेज बहादुर र सानुकान्छालाई अख्तियारले पहिले सरकारी साक्षीका रूपमा पेश गरेको थियो।

भ्रष्टाचार निवारण ऐन बमोजिम सजायमा पूर्ण छुट दिने गरी सरकारी साक्षी बनाइए पनि उनीहरूले अदालतमा पुगेर आयोगमा दिएको बयान विपरित बकपत्र गरेका थिए।

अख्तियारले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा दोषी ठहर गर्दै २४ लाख पचास हजार रूपैँया  बिगो मागदाबी गरेको छ।

यसअघि नै सोही प्रकरणमा मुछिएका मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउत विरुद्धको मुद्दा पनि प्रक्रियामै रहेको छ।