काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको अभियोगमा दोषी ठहर भएका रायन वेस्ली राउथलाई अमेरिकी संघीय अदालतले आजीवन कारावासको फैसला सुनाएको छ।
फ्लोरिडाको फोर्ट पियर्सस्थित संघीय अदालतकी न्यायाधीश आलिन क्याननले बुधबार ५९ वर्षीय राउथलाई उक्त सजायको घोषणा गरेकी हुन्।
अदालतले राउथलाई हत्याको प्रयास, संघीय अधिकारीमाथि आक्रमण र अवैध हतियार राखेको लगायतका पाँचवटा गम्भीर आपराधिक बुँदामा दोषी ठहर गरेको छ। आजीवन कारावासको अतिरिक्त, हतियारसम्बन्धी कानुन उल्लंघनको कसुरमा उनलाई थप ८४ महिना (७ वर्ष) जेल सजाय समेत सुनाइएको छ। न्यायाधीश क्याननले राउथको कृत्यलाई “लोकतान्त्रिक प्रणाली र मानव जीवनमाथिको सुनियोजित प्रहार” को रूपमा व्याख्या गरेकी छिन्।
सन् २०२४ सेप्टेम्बर १५ मा फ्लोरिडाको वेस्ट पाम बिचस्थित ट्रम्प इन्टरनेसनल गल्फ क्लबमा यो घटना भएको थियो। राउथ ट्रम्पलाई लक्षित गर्ने उद्देश्यले अर्धस्वचालित राइफलसहित करिब १० घण्टा झाडीमा लुकेर बसेको अनुसन्धानबाट पुष्टि भएको छ। अमेरिकी सिक्रेट सर्भिसका एजेन्टहरूले हतियारसहित देखेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो।
राउथले सुरुमा आफ्नै पक्षबाट बहस गर्दै अदालतसमक्ष २७ वर्षको जेल सजायको माग गरेका थिए। साथै, उनले आफूलाई विदेशमा रहेका राजनीतिक बन्दीहरूसँग साट्न अनौठो माग समेत राखेका थिए।