काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन्।
गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार‚ व्यवसाय तथा पेसामा संलग्न रहेका सर्लाही क्षेत्र नम्बर ४ का मतदातासँग आज (शनिबार) आयोजित अन्तर्क्रियामा उनले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताए। थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।
“मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो। मैले आमाबाट पहाड बुझेँ। म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ। अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ‚” उनले भने‚ “मजस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ। म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्त्व बुझाउनेछु।” आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने थापाले प्रतिबद्धता जनाए।
यो पनि…
गगन थापाको आह्वान- कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुस्
“सर्लाही ४ मा मेरो शिक्षा‚ स्वास्थ्य‚ प्रविधि‚ कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ। आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु। जसरी अहिले मलाई काठमाडौँ ४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो‚ आगामी पाँच वर्षमा सर्लाही ४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु‚” सभापति थापाले भने।
उनले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा‚ स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे।