खोप समन्वय समिति बैठक

महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न खोप र नियमित परीक्षण गराउनुपर्छ : सुनीता डंगोल

२४ माघ २०८२
अ+
अ-

काठमाडौँ। महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एपपीभी खोप सञ्चालन हुने भएको छ। काठमाडौँ महानगरपालिकाभित्रका महिलाहरूका लागि २७ माघदेखि खोप लगाइने भएको हो।

महानगरमा शनिबार कार्यवाहक प्रमुख सुनीता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठकले खोप सञ्चालनसम्बन्धी विषयमा छलफल गरेको हो। खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइन्छ।

यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप लगाइनेछ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपबाट बाहिर निकाल्न खोप‚ स्क्रिनिङ र उपचार गरेर तीन चरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने बताइन्। “यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरौँ र नतिजामा पुगौँ‚” उनको आग्रह थियो।

पाठेघरको मुखको क्यान्सरबाट बच्ने तीन चरणका उपायमध्ये १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीले एचपीभी खोप लगाउनु पहिलो उपाय हो। दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउनुपर्छ। तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनुपर्छ।

स्वास्थ्य तथा शिक्षा समिति संयोजक चिनीकाजी महर्जन भन्छन्‚ “सरकारले यो कार्यक्रमलाई सेवामूलक बनाएको छ। पैसा तिर्नु नपर्ने भएपछि मानिसहरुले अनेक अड्कल र शंका गर्ने गरेका छन्। तर, यो खोप छात्राहरूलाई पो निःशुल्क हो। कसैले मूल्य नलगाइ त कसरी प्राप्त हुन्छ र?’ पैसा तिरेर खोप लिँदा उपभोक्ताले यसको गुणस्तरबारे प्रश्न गरेको देखिँदैन। सरकारले निःशुल्क दिँदा किन गुणस्तरको प्रश्न पेचिलो हुने गरेको छ। यस विषयमा सर्वसाधारणलाई बुझाउनुपर्ने। उनको भनाइ थियो।

महानगरपालिकाले ३० छात्रालाई खोप दिनुपर्ने विद्यालयलाई एउटा खोप केन्द्र बनाएर कार्यक्रम सञ्चालन गर्दै छ। ३० जनाभन्दा कम विद्यार्थी भए भने संयुक्त खोप केन्द्र सञ्चालन हुनेछ। स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भने‚ “लक्षित छात्रा समेट्न विभागले जनप्रतिनिधि‚ स्वास्थ्य प्रवर्धन केन्द्र र स्वयंसेवक समेटेर सूक्ष्म योजना बनाएका छौँ। गएको वर्षभन्दा यस वर्षको कभरेज धेरै बनाउन साथसाथै काम गरौँ।”

परिवार कल्याण महाशाखा‚ बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जाको मृत्यु हुने गरेको छ। “खोप परीक्षणका लागि ल्याइएको भन्ने गलत प्रचार पनि पाइन्छ। यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता छ। यो शतप्रतिशत सुरक्षित छ‚” उनले भने।

खोप केन्द्र‚ वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयसँग समन्वय गरेर निर्धारण गर्नेछन्। जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैँजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ। गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ छात्रालाई यस प्रकारको खोप दिएको थियो।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार महिलाको मृत्यु भइरहेको छ। महिलालाई क्यान्सरबाट मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो। यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणबाट हुन्छ। यो भाइरसलाई एचपीभी भाइरस भनिन्छ। एचपीभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। यसबाट पटक-पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ।