२४ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आउटबाउन्ड ट्राभल मार्ट (OTM) मुम्बई २०२६ मा सहभागिता जनाउँदै नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्द्धन गरेको छ । फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न यस मेलामा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ बजारीकरणमा केन्द्रित भएको देखिन्छ ।

नेपाल पभिलियनमार्फत यस वर्ष नेपालले ३४ वटा प्रतिष्ठित नेपाली पर्यटन कम्पनीहरूको सहभागितामा लक्जरी रिसोर्ट, साहसिक पर्यटन, आध्यात्मिक गन्तव्य, वेलनेस, माईस तथा डेस्टिनेसन म्यानेजमेन्ट सेवासम्मका पर्यटन उत्पादहरु भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरेको थियो।

ओटीएम मुम्बई भारतको सबैभन्दा ठूलो आउटबाउन्ड ट्राभल बजारको प्रवेशद्वारका रूपमा परिचित छ । तीन दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले एशियाली पर्यटन प्रवृत्तिलाई दिशा दिँदै करोडौँ डलर बराबरका व्यावसायिक साझेदारी सम्भव बनाउँदै आएको छ । नेपालले विगत २५ वर्षभन्दा बढी समयदेखि ओटीएममा निरन्तर सहभागिता जनाउँदै आएको छ र यस अवधिमा नेपाल केवल तीर्थ तथा ट्रेकिङ गन्तव्यबाट बहुआयामिक लक्जरी, साहसिक र व्यावसायिक पर्यटन केन्द्रका रूपमा स्थापित भएको छ ।

नेपाल पभिलियन सांस्कृतिक मौलिकता, जीवन्त प्रस्तुति र प्रभावकारी गन्तव्य प्रवर्द्धनका कारण सधैँ भारतीय पर्यटन व्यवसायीहरूको आकर्षणको केन्द्र बन्दै आएको छ । विगतमा नेपाल पभिलियनले उत्कृष्ट गन्तव्य प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतीकरणका लागि विभिन्न पुरस्कारसमेत जितिसकेको छ ।
हालै सम्पन्न ‘जेन–जी आन्दोलन’ पश्चात् नेपालको पर्यटन क्षेत्रले उल्लेखनीय लचकता र पुनरुत्थान देखाएको बोर्डले जनाएको छ । सबै प्रमुख पर्यटन

गन्तव्य, ट्रेकिङ मार्ग, साहसिक गतिविधि तथा सांस्कृतिक सम्पदाहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । विशेषगरी भारतीय पर्यटकहरूको आगमन पुनः तीव्र रूपमा बढेको छ । जनवरी २०२६ मा भारतीय पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ।

पर्यटक आगमन वृद्भि र ओटीएम मुम्बई २०२६ का अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने, “ जेनजी आन्दोलनले क्षति पुर्‍याए पनि हामीले निकै छोटो समयमा पुनर्रुत्थान गरिसकेका छौं । नेपाल सदाझैँ विश्वका पाहुनाहरूलाई न्यानो आतिथ्यका साथ स्वागत गर्न पूर्ण रूपमा तयार छ । ओटीएम मुम्बई २०२६ मा ३४ अग्रणी कम्पनीसहितको सहभागिताले भारतसँगको हाम्रो प्रतिबद्धता र नेपाललाई सुरक्षित, स्थिर तथा विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्छ ।”

नेपाल–भारतबीचको खुला सिमाना, सडक तथा हवाई सम्पर्क, स्थिर मुद्रा विनिमय व्यवस्था र डिजिटल भुक्तानी प्रणाली (यूपीआई–फोनपे) ले भारतीय पर्यटकहरूका लागि नेपाल यात्रा अझ सहज बनेको छ । भारतबाट आउने पर्यटकहरू नेपालका कुल अन्तर्राष्ट्रिय आगमनको २५–३० प्रतिशत हिस्सा ओगट्ने प्रमुख बजार हुन् । सन् २०२५ मा मात्रै नेपालले २ लाख ९३ हजारभन्दा बढी भारतीय पर्यटक स्वागत गरेको थियो ।

यस वर्षको ओटीएम सहभागितामा नेपालले विशेष गरी धार्मिक तथा तीर्थ पर्यटन, वीकएन्ड गेटवे, लक्जरी र वेलनेस, साहसिक पर्यटन, एमआईसीई, विवाह तथा हनिमुन गन्तव्यलाई भारतीय बजार लक्षित रणनीतिक प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनी जस्ता पवित्र स्थलदेखि पोखरा, चितवन र हिमाली साहसिक गन्तव्यसम्म नेपालका विविध अनुभवहरूलाई प्रभावकारी रूपमा ब्रान्डिङ गरिएको थियो ।

मुम्बईमा आयोजित ओटीएम २०२६ मार्फत् भारतको मञ्‍चबाट नेपालले विश्‍वभरका पर्यटकलाई नेपाल घुम्‍न निम्तोसमेत दिएको छ । नेपालले आगामी दिनमा पनि भारतलाई केन्द्रमा राख्दै गुणस्तरीय, दिगो र अनुभव–केन्द्रित पर्यटन विकासमा जोड दिने बोर्डले जनाएको छ ।