काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेपाली फुटबलको विकासमा काठमाडौँ–केन्द्रित संरचना बाधक बनेको बताएका छन्।
चुनावी अभियानका क्रममा कोशी प्रदेशमा रहेका शाहले सामाजिक सञ्जालमार्फत मोफसलमा रहेको फुटबलप्रतिको उत्साहलाई राष्ट्रिय स्तरमा सदुपयोग गर्नुपर्ने धारणा राखेका हुन्।
उनका अनुसार काठमाडौँमा सञ्चालन भइरहेको राष्ट्रिय लिगमा दर्शकको उपस्थिति न्यून देखिनु चिन्ताजनक अवस्था हो। “२–३ सय दर्शक पनि नदेखिने लिगलाई हेर्दा धेरैले नेपालमा फुटबल सकियो भन्ने ठानेका छन्,” उनले लेखेका छन्, “तर वास्तविकता त्यस्तो छैन।”
शाहले मोफसलका गोल्डकप प्रतियोगिताहरूमा दैनिक हजारौँ दर्शकको सहभागिता हुने र फाइनल खेलमा टिकट नै नपाइने अवस्था रहने उल्लेख गरेका छन्। उनका अनुसार राष्ट्रिय लिगमा खेल्ने अधिकांश खेलाडी मोफसलमै उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरूको सहभागिता सीमित छ।
“केन्द्रीकृत फुटबल प्रणालीले काठमाडौँ बाहिरका क्लबलाई टिक्न कठिन बनाएको छ,” उनले भनेका छन्। पछिल्ला वर्षमा केही मोफसलका क्लब डिभिजन फुटबलमा प्रवेश गरे पनि दीगो हुन नसकेको उनको भनाइ छ।
शाहले फुटबललाई विकेन्द्रीकरण गर्दै व्यवसायिक मोडेलमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। “फुटबल केही काठमाडौँका क्लबमा मात्र सीमित नहोस्। क्लब र खेलाडी फुटबल खेल्न काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ,” उनले लेखेका छन्।
उनको कल्पनामा काठमाडौँका ठूला क्लबहरू मोफसलका रंगशालामा अतिथि बनेर खेल्ने दृश्य छ। “झापा ११ खेल्दा धनगढी रंगशाला भरियोस्, मच्छिन्द्र र थ्रीस्टारका झण्डाले पश्चिम रंगियोस्,” उनले भनेका छन्। शाहले अन्त्यमा स्पष्ट सन्देश दिएका छन्— “फुटबल नभएर कुनै खेलाडी विदेशिन नपरोस्।”