चितवन।अन्तर्राष्ट्रिय ‘डेरी एक्स्पो’ आजदेखि सुरू भएको छ। चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयुक्त आयोजनामा यहाँको चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो सुरू भएको हो।
प्रदर्शनीको उद्घाटन गर्दै सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु विकास सचिव डा दीपक खरालले कम लगानी गरेर निर्यात बढाउनेतर्फ केन्द्रित भई सरकारले काम गरिरहेको बताए।
प्रविधिको प्रयोगले लगानी घटाउने र निर्यात बढाउन सबै तहको उत्तिकै आवश्यकता रहेको उनको भनाइ थियो। सचिव डा खरालले भने, “सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले कृषि क्षेत्रमा लगानी बढाउन सके स्वरोजगार बढाउन सकिन्छ। अब दुग्ध क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ। त्यसले दुग्ध क्षेत्रमा लगानी गरेका किसानलाई आत्मनिर्भर बनाउँदै आर्थिक अवस्था सुदृढ गर्न सरकारले कार्यक्रम ल्याउने तयारी गरेको छ।”
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा डा शारदा थपलिया, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवर, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव वैकुण्ठ अधिकारीलगायतले अनुसन्धानबाट प्राप्त उपलब्धिलाई प्रयोग गर्दै लागत घटाएर उत्पादन बढाउन आवश्यक रहेको बताए।
उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे र दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न सुरु भएको उद्घाटन सत्रमा वक्ताहरू बजारीकरण र विविधिकरणमा समस्या भएकाले यसलाई समाधान गर्न आग्रह गरे।
प्रदर्शनीमा नेपाल र भारतसहितका १०० भन्दा बढी दुग्ध उत्पादन गर्ने सङ्घ संस्थाका स्टल रहेका छन् प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु सात करोडको कारोबार हुने अनुमान गरिएको छ। प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुने छ।