काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ।
कार्यसम्पादन समितिको आइतबार बसेको भर्चुअल बैठकमार्फत कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो। समिति सदस्यमा धना खतिवडा तथा सुवासकुमार पोखरेल तोकिएका छन्।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) अनुसार तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको कांग्रेसले जनाएको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तावहरू पेस गरेका थिए।
बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका-२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका २०८२’ लाई संशोधनसहित पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्।
आजको बैठकमा उपसभापति पुष्पा भुसालसहित सह-महामन्त्रीहरू फरमुल्लाह मन्सुर, डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशमशेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले धारणा राखेका थिए।
