काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने बताएका छन्। आइतबार जारी भिडियो सन्देशमा उनले कांग्रेस नेतृत्वमा सरकार बनेपछि स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे।
स्वास्थ्य मन्त्री रहँदा बीमा कार्यक्रम सुरु गरिएको स्मरण गर्दै थापाले उपचारका कारण नागरिकको सम्पत्ति सकिने समस्या समाधानका लागि यो कार्यक्रम ल्याइएको बताए। उनका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार राज्यको भूमिका कमजोर हुँदा नेपाली नागरिकले स्वास्थ्यमा अत्यधिक खर्च गर्नुपरेको छ।
हाल स्वास्थ्य बीमा कार्यक्रम अव्यवस्थित बनेको स्वीकार गर्दै उनले यसलाई सुधार गरी प्रत्येक नागरिकलाई बीमाको दायरामा ल्याइने बताए। औपचारिक क्षेत्रबाट सुरु गरी कर प्रणालीमार्फत स्रोत जुटाउने, स्वास्थ्य कार्यक्रमलाई एकीकृत गर्ने र डिजिटल प्रणालीबाट चुहावट रोक्ने योजना रहेको उनले जानकारी दिए।
“स्वास्थ्य दान होइन, सुरक्षा हो। यो संवैधानिक अधिकार हो,” थापाले भने, “पाँच वर्षभित्र अव्यवस्था हटाएर बीमाको पहुँच विस्तार गर्दै सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था बनाइन्छ।”