काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेन्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानवकल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रले राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे।

उनले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहिआएको बताए। एक महत्त्वपूर्ण विकास साझेदार समेत रहेको संयुक्त अधिराज्यले नेपाललाई निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे।

उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यका माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबुत बनाएकामा खुसी व्यक्त गरे। संयुक्त अधिराज्यमा नेपालीको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण भएको आफूहरूको ठम्याइ रहेको उनले उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रका माध्यमबाट छिट्टै टुंगोमा पुर्‍याउन उचित हुने आफूलाई लागेको बताए।

गोर्खा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकामा उनले संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गरे। प्रतिवेदनउपर सम्बन्धित निकायले आवश्यक अध्ययन गर्ने उनले जानकारी गराए।

त्यस अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेन्डले ब्रिटिस गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे। ब्रिटिस गोर्खामा भर्ना भएका युवालाई ‘तपाईंहरू नेपालका छोराछोरी हो’ भनेर आफूले सम्झाउने गरेको उनले बताए। बेलायती जनताले गोर्खा नेपालीप्रति माया र सम्मान प्रकट गर्ने गरेको उनले उल्लेख गरे।

त्यस अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो।