काठमाडौँ। यस वर्षको महाशिवरात्रि पर्वलक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ।
भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। उनले भने, “महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ। साधु-सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पुर्याउने लक्ष्यसाथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचारलगायत क्षेत्रमा काम भइरहेको छ।”
महाशिवरात्रिका दिन ठुलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भिड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपतकालीन सेवामा विशेष ध्यान दिइएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न संघसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिइएको प्रवक्ता जोशीले बताए।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिले शिवरात्रिलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ।
शिवरात्रिलक्षित गर्दै अहिले पशुपतिमा साधु-सन्तहरूको आगमन हुने क्रम सुरु भएको छ। देशका विभिन्न भू-भागका साथै छिमेकी मुलुक भारतबाट साधु-सन्त पशुपतिनाथ क्षेत्रमा आउन थालेका छन्। शिवरात्रि नजिकिँदै जाँदा साधु-सन्तको चहलपहल बढ्दै गएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
विभिन्न अखडा तथा सम्प्रदायका साधु-सन्त पशुपति क्षेत्रमा आइपुगी आ-आफ्ना धुनी स्थापना गर्न थालेका छन्। साधु-सन्तले पशुपति क्षेत्रका विभिन्न स्थानमा ध्यान, तपस्या र साधनाका लागि धुनी तयार गरिरहेका छन्। यस वर्षको शिवरात्रि ३ फागुनमा परेको छ।