काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक (रेजिडेन्ट को-अर्डिनेटर) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन्।

नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन्। साथै उनले सुन्दर देश नेपालको बसाइँ सुखद् रहने विश्वास पनि व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत २३ र २४ भदौको जेन-जी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति र लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी पनि दिइन्। यस क्रममा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ‚ सहयोग र विश्वासका लागि उनले धन्यवाद पनि ज्ञापन गरिन्।

यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको र २३ र २४ भदौ घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिइन्।

“हामी निकै असहज अवस्थामा आएका थियौँ। शान्ति सुव्यवस्था र कानुनको शासन बहालीका निम्ति पहिलो काम गर्‍यौँ। छोटो समयमै हामीले शान्ति बहाल गर्न सफल भयौँ। थप द्वन्द्व चर्किन नदिन निकै सतर्कताका साथ अघि बढ्यौँ। त्यसपछि हामीले शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर सम्पूर्ण शक्तिका साथ काम गरिरहेका छौँ। अब निर्वाचन पनि सम्पन्न हुने चरणमा छ‚” प्रधानमन्त्री कार्कीले भनिन्‚ “संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ‚ सहयोग र विश्वासका लागि धन्यवाद छ।”

उनले राष्ट्रसंघीय निकायहरूमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीका लागि पनि सह्राहना गरिन्। राष्ट्रसंघले आगामी दिनमा नेपालको प्राथमिकता र आवश्यकतामा आधारित आफ्ना कार्यक्रम सञ्चालन तथा सरकारसँग साझेदारी गर्ने विश्वास पनि प्रधानमन्त्री कार्कीले व्यक्त गरिन्।

नवनियुक्त संयोजक याहियाले विषम परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकामा बधाइ दिइन्। उनले भनिन्‚ “देशका लागि यो महत्त्वपूर्ण समयमा नेपालमा संयुक्त राष्ट्रसंघको टोलीको नेतृत्व गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो। युवाका लागि रोजगारी सिर्जना‚ शान्ति‚ समावेशिता तथा जलवायुजस्ता राष्ट्रिय प्राथमिकतामा सहयोग गर्न संयुक्त राष्ट्रसंघ पूर्ण रूपमा प्रतिबद्ध छ।”