गण्डकी। गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार ६४९, नवलपुरमा तीन हजार ५८५ र तनहुँमा दुई हजार ६२५ जना किशोरीलाई उक्त खोप प्रदान गरिने भएको हो ।
यस्तै बागलुङमा दुई हजार ३०२, गोरखामा एक हजार ८८०, स्याङ्जामा एक हजार ७८९, लमजुङमा एक हजार २५८, पर्वतमा ९५०, म्याग्दीमा ९२६, मुस्ताङमा १४७ र मनाङमा २६ जनालाई ‘एचपिभी’ खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए ।
कक्षा ६ मा अध्ययनरत २० हजार ५५९, १० वर्ष उमेरका विद्यालयबाहिर रहेका १९१, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका ३२७ र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षसम्मका २० किशोरीलाई यस वर्ष खोप दिइने भएको हो । गत वर्ष गण्डकीमा १० देखि १४ वर्ष उमेर समूहका सवा लाख बढी किशोरीलाई खोप लगाइएको थियो ।
‘एचपीभी’ खोपलाई यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरी कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई खोप लगाउन सुरु गरिएको खोप अधिकृत लम्सालले बताए । प्रदेशका केही जिल्लामा ‘एचपिभी’ खोप अभियान सुरु भइसकेको र केही जिल्लामा अभियान सञ्चालनको तयारी भइरहेको जनाइएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भने आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ ।
एक हजार ८४० विद्यालय र ८६० सामुदायिक खोप केन्द्र गरी कुल दुई हजार ७०० खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिने भएको छ । खोप अभियानका लागि एक हजार ७८७ स्वास्थ्यकर्मी र एक हजार ८६६ जना स्वयंसेवक परिचालन हुने बताइएको छ । पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपीभी’ खोप अभियान सञ्चालन भइरहेको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पुर्याउने खोप अधिकृत लम्सालले बताए ।
‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने उनको भनाइ छ । उनका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको छ । ‘ह्युमन प्यापिलोमा’ भाइरसबाट संक्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन् । मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपीभी’ भाइरसको पटकपटक संक्रमण भएर २० वर्षसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ ।