काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव संकलन गरेको छ।
पार्टीले आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन घोषणापत्र तयार गर्न पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए। कतिपय जनवर्गीय सङ्गठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमालेलाई सुझाव पठाएको उनको भनाइ छ।
“हामीले जनवर्गीय सङ्गठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणापत्रका लागि सुझाव सङ्कलन गरिरहेका छौँ,” उनले भने, “ती सुझाव सङ्कलनका आधारमा घोषणापत्रको अन्तिम मस्यौदा बनाउँदै छौँ।”
फागुन पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक गरिने सचिव अधिकारीले बताए। एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।