काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

बागलुङ। विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ।

राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएको यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रूपमा चिनिन्छ।

बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरिइरहने उम्मेदवार हुन् एमालेका हीराबहादुर केसी।

तेस्रो पटक प्रयासमा संसद् भवन छिर्ने योजनामा रहेका केसी यस पटक अनुमोदित हुने आशामा छन् । तर केसीलाई पुरानै दलका नयाँ उम्मेदवार र नयाँ दलका युवा उम्मेदवारले चुनौती दिने निश्चित छ। यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र रास्वपालगायतका नयाँ उम्मेदवार चुनौतीका रूपमा आएका छन्।

“यसअघि पनि चुनाव हारेर विचलित भइन, तेस्रो पटक चुनाव लड्दै छु, दोस्रो संविधानसभा, प्रदेशसभाको निर्वाचनमा पराजित भएर तर जनताबाट टाढा रहिन, अहिलेको प्रतिनिधिसभामा उम्मेदवार भएर गाउँ पुगेको छु, धेरैले यस पटक अनुमोदन गछौँ भन्नुभएको छ”, केसीले भने।

विद्यार्थी सङ्गठनको जिल्ला, अञ्चल हुँदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भएका एमालेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र विसं २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका थिए।

यस क्षेत्रमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ।