हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका ८‚ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ-तराई मधेस द्रुतमार्गमा टो-चेन मेसिन खस्दा एक मजदुरको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खनेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा मेसिनको ब्रेकफेल भई करिब २१ मिटर तल खस्दा त्यसमा बसेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) पुष्कर बोगटीले जानकारी दिए।
सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ६ का ३७ वर्षीय जुल्फे तामाङ भने घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको पनि बोगटीले बताए।