काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तयारीविनाका विकास निर्माण आयोजना स्थगन गरिएको बताएका छन्। उनले तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे-टुक्रे’ आयोजना मात्र रोकिएको दाबी गरे।

राष्ट्रिय सभाको बुधबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफमा उनले बजेटीय दबाब र प्राथमिकता पुन:संरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पारे ।

अर्थमन्त्री खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको पनि बताए । उनले आयोजनाको रकम रोक्का गरिएकामा अहिले प्राथमिकताअनुसार धेरै आयोजनाको रकम फुकुवा भएर सुरु हुने क्रममा रहेको बताए।

आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्न खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरूको दायित्व सिर्जना भएर भुक्तानी गर्न नसकिएको उनले बताए ।

उनले आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को ५ असोजको निर्णयअनुसार तयारी नभएका, खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरुको रकम स्थगन मात्रै गरिएको जानकारी दिए ।

तर अहिले डिजाइन सकेर टेन्डरमा जाने क्रममा रहेका वा गइसकेका, उपभोक्ता समितिसँग सम्झौता भएर काम प्रारम्भ हुने क्रममा रहेकालगायत महत्त्वपूर्ण आयोजनाको रकम फुकुवा गरिएको अर्थमन्त्री खनालले बताए।