शिक्षालय
जेन-जी आन्दोलनका क्रममा २४ भदौमा जलाइएको युलेन्स स्कुलका पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन
काठमाडौँ। गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा मुलुकले ठुलो क्षति बेहोर्यो। आन्दोलनको दोस्रो दिन २४ भदौमा देशैभर विध्वंशात्मक घटना भए। आक्रमणकारीहरूको निसानामा सार्वजनिक संरचनाहरू पनि परे।
यही आन्दोनको निसानामा परेको युलेन्स स्कुल अहिले पूर्वाधारको पुनर्निर्माण पूरा गरेर पूर्ण क्षमतामा सञ्चालनमा आएको युलेन्स एजुकेसन फाउन्डेसनले विज्ञप्तिमार्फत जानकारी दिएको छ। पूर्वाधार पुनर्निर्माणसँगै स्कुलले नेतृत्व पनि परिवर्तन गरेको छ।
यसअघि व्यवस्थापन समिति अध्यक्ष रहेकी आरजु राणा देउवाको कार्यकाल पूरा भएकाले फाउन्डेसनले अध्यक्ष र प्रधानाध्यापक (प्रिन्सिपल) पनि परिवर्तन गरेको छ। फाउन्डेसनका अनुसार अध्यक्षमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक भोला थापा र प्रिन्सिपलमा एकता राणालाई नियुक्त गरिएको छ। राणा युलेन्सकै शिक्षक हुन्। उनले युलेन्समा २० वर्षदेखि अध्यापन गराउँदै आएकी छन्।

बैंक स्ट्रिट कलेज अफ एजुकेसनबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी राणाले युलेन्समा एकाइ संयोजक र उप-प्रधानाध्यापकका रूपमा शैक्षिक नेतृत्व र व्यवस्थापनको अनुभव हासिल गरेकी छन्।
फाउन्डेसनद्वारा जारी विज्ञप्तिअनुसार युलेन्स एजुकेसन फाउन्डेसनको ‘बोर्ड अफ ट्रस्टिज’ का नवनियुक्त सदस्यमा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक थापा‚ नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी अनुभव सँगालेका प्रद्युम्नकुमार खनाल र अहिले युलेन्सका अभिभावकसमेत रहेका मनीष थापा छन्। पूर्वप्रिन्सिपल मेदिनबहादुर लामिछाने भने अब युलेन्स एजुकेसन फाउन्डेसनको प्रमुख प्राज्ञिक अधिकारीको भूमिकामा रहनेछन्।
फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरूले नवनियुक्त प्रिन्सिपल राणाको लामो सेवा अनुभव र नेतृत्वले युलेन्स स्कुल ललितपुरलाई अर्को चरणमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै लामिछानेको प्रगतिशील शिक्षाशास्त्र र शैक्षिक नेतृत्वको अनुभवले संस्थाको शैक्षिक दिशालाई मजबुत बनाउने उनले बताए।
गत २४ भदौमा आक्रमणकारीहरूले काठमाडौंको बाँसबारी‚ ललितपुरको खुमलटार र काभ्रेको नालास्थित युलेन्स स्कुलका भौतिक संरचनामा आगजनी र तोडफोड गरेका थिए। फाउन्डेसनका अनुसार खुमलटारका पाँच भवन‚ बाँसबारीका तीन भवन र नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर नष्ट हुँदा करिब एक अर्ब २५ करोड रुपैयाँबराबरको क्षति भएको थियो।

त्यस्तै युलेन्स स्कुल ललितपुरको भौतिक पुनर्निर्माण आंशिक भए पनि सम्पन्न भएको र केही भवनमा भौतिक कक्षा सञ्चालन गर्न सकिने फाउन्डेसनले जानकारी दिएको छ। “केही भवनको पुनर्निर्माण प्रक्रिया जारी छ‚” फाउन्डेनसद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “विध्वंसमा खरानी बनाइएका हाम्रा सवारीसाधनलाई वातावरणमैत्री विद्युतीय बसद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको परिवहन सुविधा व्यवस्थित गर्न प्रक्रिया अघि बढाइएको छ।”
विज्ञप्तिमा युलेन्स कलेज‚ ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्रजस्ता कार्यक्रम पनि भौतिक रूपमा पुन: सञ्चालनको क्रममा छन्।
युलेन्स एजुकेसन फाउन्डेसन कम्पनी रजिस्ट्रारको कार्यालयमा नाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको संस्था हो। दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनाउने सोचका साथ फाउन्डेसन सन् २००६ मा स्थापना भएको हो।