काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
अ+
अ-

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआईभी संक्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।

दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पताल, एआरटी सेन्टर प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार यौन रोग सङ्क्रमितमध्ये ३२ जना रोजगारीका लागि विदेश गएर फर्किएका रहेका छन् । यस्तै, यौन व्यवसायमा लागेका छ जना, उनीहरू साथी २२ जना, तेस्रो लिङ्गी ११ जना र अन्य ३१ जना रहेका छन् ।

सेन्टर प्रमुख सापकोटाले यौन रोगमा सबैभन्दा धेरै ८८ जनामा भिरिङ्गीको संक्रमण देखिएको बताए । अन्य यौन रोगमा भेरिना, पाठेघरको संक्रमण एवं ढुसीजन्य संक्रमण देखिएको पाइएको उनले जानकारी दिए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्कका कारण यौन रोगको संक्रमण बढेको पाइएकाले सतर्कता अपनाउन आग्रह गरे । उनले सुरक्षित यौन सम्पर्क गर्न र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।