काठमाडौँ। नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोसी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ।
महिलामा गण्डकी, कोसी, मधेस, सुदूरपश्चिम र बागमती प्रदेशसहित पाँच टिमको सहभागिता रहनेछ। राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए। उत्कृष्ट खेलाडीलाई पाँच हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई दुई हजार नगदबाट पुरस्कृत गरिनेछ।
महासचिव श्रेष्ठले यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरी प्रशिक्षणका लागि आवश्यक प्रबन्ध मिलाइने बताइन्। श्रेष्ठले ग्रासरुट तहदेखि नै हक्कीको विकास गर्ने उद्देश्यले विद्यालयमा हक्की विस्तारको अभियानमा संघ क्रियाशील रहेको बताइन्।
११ फागुनसम्म चल्ने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। हक्की संघकै आयोजनामा दशरथ रंगशालामा पहिलोपटक हक्कीको प्रतियोगिता हुन लागेको हो।