अनुभूति
किताब ककसले पढ्छन् र मन पराउँछन् या पराउँदैनन्, लेखकको वशको कुरा होइन। बगैँचामा फलेको फल जोसुकैले खान सक्छ।
लेखक एउटा किनारा हो भने पाठक अर्को किनारा। यी दुई किनारालाई किताबरूपी पुलले जोडेको हुन्छ। त्यो काठको, फलामको या कंक्रिटको पुल होइन। त्यो पुल पानीको जस्तो हुन्छ। पानी भनेको सिर्जना हो, जो पाठक र लेखकको किनारालाई छोएर निरन्तर बगिरहेको हुन्छ।
केही प्रशंसाः
पाठक एक
फागुन २०६९। देवघाटवारि कौडिण्य ऋषिको मन्दिर छ। मन्दिर नजिकै लामो टहरो, जहाँ २५० हाराहारी कौडिण्य ऋषिका सन्तति भेला भएर कार्यक्रम गर्दै थिए। त्यहीँ सेतो धरतीका विषयमा पनि कार्यक्रम हुँदै थियो।
कार्यक्रम स्थलबाहिर सम्पूर्ण किताबका सञ्चालक (त्यसबेला सुनगाभा पुस्तक पसल) लेखराम सापकोटाले पुस्तकहरू बिक्रीका लागि राखेका थिए। कार्यक्रम स्थलमा करिब १० वर्षको बालक आफ्नो बाबुको कुर्चीमा बसिरहेका थिए। उनी बुवाको काखबाट उठेर बेलाबेला प्रदर्शनीका लागि राखिएका पुस्तकहरूमा नजर लगाउँदै थिए। सबैभन्दा पहिला उनको नजर रातो आवरण भएको पुस्तकमा पर्यो। त्यसलाई उठाए र पल्टाए। सुरुको पृष्ठ बडो दिलचस्पीका साथ पढे, मानूँ त्यहाँ आफ्नै जन्मको कथा छ। पुस्तक त्यहीँ छोडेर उनी खुरुर्र दौडिँदै बुवा भएको ठाउँमा गए र त्यो रातो अनुहार भएको किताब किनिदिन भने। मानूँ, त्यो एकदम मीठो चकलेट हो। उनका बाबुले भने, ‘त्यो केटाकेटीले पढ्ने किताब होइन।’
बालकलाई बुवाको कुरा चित्त बुझेन। बुवाको काखबाट छुटेर आए र त्यही रातो किताब उठाए। दोस्रो पृष्ठ पल्टाए र उभिएरै पढे। यसरी पढे, मानूँ त्यहाँ उनको आफ्नै जन्मको कथा लेखिएको छ।
फेरि बाबुलाई किताब किनिदिन भने। फेरि पनि बुवाले मानेनन्। पुनः बालक आए र अर्को पृष्ठ पढे। उनी पाँचौँ पृष्ठमा पुगिसकेका थिए, यस्तो लाग्थ्यो उनी त्यो किताबले पुर्याउने गन्तव्यमा पुग्न चाहन्थे। त्यसपछि भने, बालकको जित भयो। उनका बुवाले छोराका लागि किताब किनिदिए। त्यतिबेलासम्म कार्यक्रम सकिइसकेको थियो। मलाई ती बालकले फोटो खिच्न हात तानेर बोलाए; किताब लिएर मसँग उभिए; आफ्ना बालाई फोटो खिच्न लगाए र भने, ‘बाबा, भरे फेसबुकमा पोस्ट गरिदिनू है।’

त्यो किताब सेतो धरती थियो। लेख्दै गर्दा सोचेको थिएँ, यो किताब परिपक्व मानिसहरूका लागि हो। तर, ती बालक र अरू पनि धेरै बालबालिकाले मन पराएपछि लाग्यो, लेखकले त लेख्ने हो, त्यो किताब ककसले पढ्छन् र मन पराउँछन् या पराउँदैनन् उसको वशको कुरा होइन। बगैँचामा फलेको फल जोसुकैले खान सक्छ।
पाठक दुई
एक अधबैँसे महिला, जो नर्स थिइन्। उनका श्रीमान् भर्खर बितेका रहेछन्। दुई छोरी, जसले स्कुल तहको पढाइ भर्खर सकेका। त्यो शोकको बेला उनी बिरामी भइन्। क्यान्सर भएको रहेछ। उनी डिप्रेसनमा गइन्। क्यान्सर सन्चो भयो, तर डिप्रेसन सन्चो भएन। अनेक ध्यानकेन्द्रहरू धाइन्। यसै क्रममा योगी विकासानन्दको मनोक्रान्तिमा पनि गइन्। अनेक उपाय अपनाउँदा पनि भनेजस्तो सुधार नभएपछि योगीजीले सेतो धरती पढ्न सुझाएछन्। पढेपछि उनलाई लाग्यो, ‘मभन्दा पीडामा भएकी तारा कहिल्यै डिप्रेसनमा गइनन्। जब कि तारा मभन्दा हरेक कुरामा हारेकी छन्। धेरै कुरा नपाएरै हराएका छन्; आफूसँग भएको कुरा पनि नभोगेरै गुमेका छन्। मैले त धेरै भोगेँ र अझै मेरो भागमा भोग्नका लागि धेरै थोक छ… !’
पाठकको मृत्युको खबरले मेरो मनलाई धेरै दिनसम्म बिथोल्यो।
क्यान्सर र डिप्रेसन दुवैबाट सन्चो भइसकेपछि उनी मलाई भेट्न आएकी थिइन् र विस्तारमा आफ्नो जीवन रूपान्तरणको कथा सुनाएकी थिइन्।
त्यसको झन्डै एक वर्षपछि उनको मृत्युको खबर सुनेँ। पाठकको मृत्युको खबरले मेरो मनलाई धेरै दिनसम्म बिथोल्यो। विज्ञानले पनि नदेख्ने गरी क्यान्सर शरीरको कुन कुनामा लुकेको रहेछ; कसैलाई थाहै भएन।
पाठक तीन
भर्खर करोडौं कस्तूरी प्रकाशन भएको थियो। म्यासेन्जरमा एउटा सन्देश आयो। त्यसको भाव यस्तो थियो– तीन वर्षदेखि बुवाले मलाई जसरी पनि एमबीबीएसमा नाम निकाल्ने अनि डाक्टर बन्ने आदेश दिनुभएको थियो। म एमबीबीएस पढ्न चाहन्थिनँ। बुवासँग असहमति त जनाएको थिएँ, तर विद्रोह गर्न सकेको थिइनँ। बुवाले मलाई इच्छा सोध्नुभएको थिएन, आदेश दिनुभएको थियो। म एमबीबीएस तयारीका लागि पढिरहेको थिएँ।
एक साँझ बुवाले अचानक भन्नुभयो, ‘तँलाई मन छैन भने एमबीबीएस पढ्नु पर्दैन। तँलाई जे मन लाग्छ त्यही पढ्!’
म त छक्कै परेँ– कसरी आयो बाको सोचाइमा यस्तो मिराकल?
त्यसपछि बुवाले मेरो टेबलमा एउटा उपन्यास राखिदिनुभयो। नाम थियो– करोडौं कस्तूरी, र भन्नुभयो, ‘यो किताब पढ्!’
पढिसकेपछि थाहा पाएँ, मैले बुवालाई बुझाउन नसकेको कुरा यो किताबले बुझाएको रहेछ।
सर! एमबीबीएसको तयारी कक्षा छोडेर अब आफूले चाहेको फिल्डमा लाग्नेछु र सफल भएपछि तपाईंलाई भेट्न आउनेछु।
केही सुझावः
पाठक एक
२०७२ सालको कुरा। पक्लिहवा कृषि क्याम्पस भैरहवामा कार्यक्रम हुँदै थियो। एक जना विद्यार्थीले दर्शकदीर्घाबाट सुझाव दिए, ‘तपाईंले यहाँ लेख्नुभएको छ– मेरा बाबुको करोडौँ स्पर्म र आमाको करोडौँ ओभमले पटक पटक बैठक बसेर मलाई जन्माउने निर्णय गरे। करोडौँ स्पर्म त हुन सक्ला, तर करोडौँ ओभम हुँदैन। किनभने, सामान्यतया महिनामा एउटा मात्र ओभम फुट्छ। कहिलेकाहीँ दुई या तीन ओभम पनि फुट्न सक्छन्। त्यो बेला जुम्ल्याहा या तिम्ल्याहा सन्तान जन्मन सक्छन्। तर, करोडौँ फुट्दैनन्।’
त्यसपछि उनलाई धेरै धन्यवाद दिएँ अनि तेस्रो संस्करणमा सच्याएँ।

पाठक दुई
एक जना पाठकले सेतो धरतीलाई देखाउँदै भने, ‘यो किताबमा यौन नभएको भए गीताजस्तो पवित्र ग्रन्थ हुन्थ्यो।’
मैले उनलाई भनेँ, ‘धेरै धन्यवाद! यति सामान्य किताबलाई त्यति असामान्य ग्रन्थसँग तुलना गर्नुभयो। तुलनाले नै यो किताबको तौल बढ्यो। यो केवल तपाईंको प्रेम हो।’
तर मनमनै भनेँ– यो किताबमा यौन नआएको भए जीवन हुन्थेन। गीतामा युद्ध नआएको भए के हुन्थ्यो होला? यसमा युद्ध छैन। मन मारिए पनि कसैको तन मारिएको छैन।
पाठक तीन
गुलाबी उमेर देखाउँदै एक जना प्राध्यापकले कार्यक्रममा भने, ‘सेतो धरती लेख्नेले किन यस्तो उपन्यास लेख्नुभयो? म यो उपन्यास मेरी छोरीलाई पढ भन्न सक्तिनँ। किनभने, तपाईंले आमालाई नराम्रो देखाउनुभएको छ। र, अर्को कुरा यो गम्भीर लेखन होइन।’
मैले टिनएज अर्थात् गुलाबी उमेरका पात्रहरूको कथा लेखेको छु। उनीहरूको उमेरले नै उनीहरूलाई प्रायः गम्भीर हुन दिँदैन।
मैले भनेँ, ‘आमा पनि साधरण मानिस हुन्। उनलाई हामीले महान् आदर्श बनाएर मानिसजस्तै भएर बाँच्न दिएनौँ। अपवाद छोडेर एकदिन सबै मानिस आमाबाबु बन्छन्। उनीहरू महान् हुने भए संसारमा नराम्रो मानिस कोही हुने थिएनन्। सबै मानिस महान् हुने थिए। कतै षड्यन्त्र, चोरी, डकैती, हत्या, बलात्कारजस्ता अपराध हुने थिएनन्। घरमा चाबी पनि लगाउनुपर्थेन; घरवरिपरि पर्खाल पनि लगाउनुपर्थेन; कानुन र प्रहरी पनि चाहिन्थेन; जेल र सजाय पनि चाहिन्थेन। सम्बन्धका हिसाबले आमा भए पनि मैले ती पात्रलाई सामान्य मानिसका रूपमा चित्रण गरेको हुँ। मात्रा मात्र फरक हो। सबै मानिससँग कमजोरीसहितको मानवीय स्वभाव हुन्छ।

अर्को पनि सवाल गर्नुभयो– ‘यो गम्भीर लेखन होइन।’ अवश्य सत्य भन्नुभयो। मैले टिनएज अर्थात् गुलाबी उमेरका पात्रहरूको कथा लेखेको छु। उनीहरूको उमेरले नै उनीहरूलाई प्रायः गम्भीर हुन दिँदैन। उनीहरूलाई लेख्दा सेतो धरतीको जस्तो गम्भीरता राखेको भए फेरि तपाईंले नै भन्नुहुन्थ्यो होला– पात्र सुहाउँदो भएन। तैपनि मलाई लाग्छ, अझै गम्भीर लेखन भयो कि!’
पहिलो कवितासंग्रहदेखि पछिल्लो उपन्याससम्म आइपुग्दा यस्ता धेरै क्षण छन्, जो पाठकहरूका अनौठा प्रतिक्रिया र प्रेमले भरिएका छन्। कुनै भावनात्मक छन्, कुनै वैचारिक; कुनै आलोचनात्मक छन्, कुनै प्रशंसात्मक; कुनै रूपान्तरणका छन्, कुनै मतान्तरका। जे छन्, ती मूल्यवान् छन्, जसले प्रेम र प्रेरणा मात्र दिएका छैनन्। तिनले एउटा उत्साही लेखकलाई अघि बढ्न बाटो बनाइदिएका छन् र भावबोध पनि गराएका छन्।
ती तमाम पाठकले फेरि अर्को कृति सिर्जना गर्ने र त्यसका लागि थप मिहिनेत गर्ने ऊर्जा भरिदिएका छन्। धन्यवाद मेरा प्रिय पाठकहरू!!