लुम्बिनी। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्।
आममतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो। रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका १५५ वडामा १५ दिनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिइन्।
प्रमुख आचार्यका अनुसार हरेक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय पालिकामा एक जना अनुगमनकर्ता परिचालन गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालित गरिएको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रुपन्देही जिल्लामा जम्मा छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्। सबैभन्दा बढी क्षेत्र १ मा एक लाख ४६ हजार ८२४ र कम क्षेत्र ४ मा एक लाख १६ हजार १७२ मतदाता रहेको आयोगले जनाएको छ।
यसैगरी क्षेत्र २ मा एक लाख ३५ हजार ५०, क्षेत्र ३ मा एक लाख चार हजार ३५ जना र क्षेत्र ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता रहेको र जिल्लामा ४८ दशमलव ५२ प्रतिशत महिला मतदाता रहेको आयोगले स्पष्ट गरेको छ।
मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा आएको आयोगको भनाइ छ।