काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

आचारसंहिताविपरीत सेतोपाटी डटकममा प्रकाशन भएका दुई समाचारका विषयमा आवश्यक कारबाही गर्न निर्वाचन आयोगद्वारा प्रेस काउन्सिललाई पत्राचार

४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले सेतोपाटी डटकम (अनलाइन पत्रिका) लाई कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

‘सेतोपाटी चुनाव विश्लेषण-१’ शृंखलाअन्तर्गत ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ शीर्षकको समाचार आइतबार प्रकाशित भएको थियो। यस्तै सेतोपाटीमै ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा अर्को समाचार सोमबार सार्वजनिक भएको थियो।

आयोगले यी दुई समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आचारसंहिताविपरीत भएकाले आवश्यक कारबाही गर्न काउन्सिललाई सोमबार पत्राचार गरेको हो।

‘उल्लिखित सन्दर्भमा सेतोपाटी अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सोउपर आवश्यक कारबाही हुन निर्णयानुसार अनुरोध छ,’ आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

यो पनि…

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण