सेयरबजार
तीन कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट‚ रिडी पावरको कारोबार सबैभन्दा धेरै
काठमाडौँ। फागुनको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से एकल अंकले घटेको छ।
८.१६ अंकले घटेको नेप्से २‚६६२.९१ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.३० प्रतिशतले घटेको हो। फागुन १ गते शुक्रबार‚ २ गते शनिबार र ३ गते आइतबार परे पनि शिवरात्रिको बिदाका कारण नेप्से ४ गते सोमबार मात्र खुलेको हो।
सोमबार सेन्सिटिभ इन्डेक्स पनि १.०६ अंकले घटेर ४५५.६६ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.२३ प्रतिशतले घटेको हो। नेप्सेमा सोमबार ३३५ कम्पनीको ८० हजार ५५९ पटकको कारोबारमा एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच भए। जसमा सोमबार सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा तीन समूहको सूचक मात्र बढे। बाँकी १० समूहका सूचक राताम्मे भए।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१२‚ विकास बैंक ०.४६ प्रतिशतले घटे। फाइनान्स समूहको सूचक ०.५६ प्रतिशत र होटेल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशतले बढ्यो।
यसैगरी जलविद्युत् १.०२‚ लगानी ०.६१‚ जीवन बिमा समूह ०.५५ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन समूह भने ०.४९ प्रतिशतले बढ्यो।
यस्तै लघुवित्त ०.२३‚ म्युचुअल फन्ड ०.२१‚ निर्जीवन बिमा ०.५२‚ अन्य समूह ०.०७ र व्यापार समूहको सूचक ०.६८ प्रतिशतले ओरालो लाग्यो।

नेप्सेमा सोमबार ८६ कम्पनीको मूल्य बढ्दा १६३ कम्पनीको घट्यो। नौ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा सोमबार तीनवटा कम्पनीमा सकारात्मक सर्किट लाग्यो अर्थात् यसका लगानीकर्ताले १० प्रतिशतले कमाए। सकारात्मक सर्किट लाग्ने कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड‚ रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र साल्पा विकास बैंक लिमिटेड छन्।
सोमबार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतले गुमाए। खानीखोलाको अन्तिम कारोबार मूल्य २९० रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै कारोबार हुनेमा रिडी पावर कम्पनी लिमिटेड रह्यो। सोमबार यसको ६५ करोड तीन लाख २२ हजार १६३ रुपैयाँको कारोबार भएको छ। रिडीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३२९ रुपैयाँ कायम रह्यो।