काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन आगामी २२ जेठदेखि हुने भएको छ।

एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करणको मिति घोषणा गरेको हो। खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।

पत्रकार सम्मेलनमा एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रमुख अमितकुमार बेगानीले भने‚ “गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भयो। यसले नेपाली कबड्डीमा व्यावसायिकताको सुरुआत गरेको छ। अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।”

प्रतियोगितामा १५ देशका सयभन्दा बढी खेलाडी सहभागी हुनेछन्। बेगानीले भने‚ “दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका एक सयभन्दा बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन्। जुन गत वर्षभन्दा करिब दोब्बरको संख्या हो। यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको छ।”

बेगानीले प्रो-कबड्डी लिगका अनुभवी भारतीय खेलाडीसँगै इरान, कोरिया, पोल्यान्डलगायत उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए। एस्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए। कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा‚ महासचिव अरविन्दकुमार झा‚ र्यापर भियोमा पनि उपस्थित थिए।

एस्ट्रोनिक्सले एनकेएल सिजन दुईको ब्रोडकास्ट पार्टनरका रुपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता पनि गरेको छ। सम्झौताअनुसार एनकेएल सिजन दुईका खेलहरू कान्तिपुर म्याक्स टीभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स‚ जनकपुर नाइट्स‚ काठमाडौं माभरिक्स‚ पोखरा लेकर्स‚ हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँमाथि ४३-४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो।