काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
District Court Kathmandu File photo
अ+
अ-

काठमाडौँ। गैरकानुनी रूपमा नेपालीलाई अमेरिका लगेर करोडौँ ठगी गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।

मुद्दा दायर हुनेमा रुकुमपश्चिम बाफिकोट गाउँपालिका २ घर भई काठमाडौँ बस्ने कलबहादुर बस्नेत र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ घर भई काठमाडौँ बस्ने अमित बस्नेत छन्। दुवै जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत सोमबार मुद्दा दायर गरिएको मानव बेचबिखन ब्युरोले जनाएको छ। ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार दुवैविरुद्ध ९८ करोड पाँच लाख ८२ हजार ७५१ रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ।

पंगेनीका अनुसार कलबहादुर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् भने अमित फरार छन्। फरार अमितविरुद्ध पक्राउ पुर्जी जारी भई खोजी भइरहेको पंगेनीले बताए।

दुवैजनाले २५० नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका लगेको खुलेको छ। अनुसन्धानअनुसार विभिन्न देश हुँदै मानव तस्करीका रूपमा अमेरिका प्रवेश गराएको देखिएपछि दुवैविरुद्ध अनुसन्धान सुरु गरिएको थियो।

दुवैले अमेरिका पठाउँदा पीडितबाट रकम संकलन गरेका थिए। त्यसरी अमेरिका पठाउँदा कलबहादुरको नाममा बैंकहरूमा ७० करोड ६० लाख ५३ हजार ७२२ र अमितको नाममा २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँको कारोबार भएको अनुसन्धानले देखाएको छ।