काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। सडकमा हिँडिरहेका एक ज्येष्ठ नागरिकलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरुष समातिएका छन्।

काठमाडौँको चप्पलकारखानानजिकै आफूलाई मुख छाडेको भन्दै कमजोर शारीरिक अवस्थाका एक ज्येष्ठ नागरिकमाथि मुक्का बर्साउने व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए।

ज्येष्ठ नागरिकमाथि मुक्का बर्साएको भिडियो सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो। सडकमा हिँडिरहेका ज्येष्ठ नागरिकलाई जिप चालकले पटक-पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जालभर छ्यापछ्याप भएपछि उनलाई पक्राउ गर्न दबाब बढेको थियो।

भिडियोमा एकजना अधबैंशे पुरुष बा.३च ११०३ नम्बरको जिपबाट झरेर हिँडिरहेका ज्येष्ठ नागरिकमाथि गाली गर्दै हातपात गरेको देख्न सकिन्छ।

‘ए जँड्याहा के भन्या ओई तैँले,’ भन्दै ती चालकले ज्येष्ठ नागरिकको टाउकोमा मुक्का प्रहार गरेका थिए। गाडीको चालकसँगै रहेकी महिला पनि उनलाई साथ दिँदै ज्येष्ठ नागरिकमाथि खनिएकी थिइन्।