मुम्बई। पटकथा लेखक ९० वर्षीय सलिम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
अभिनेता सलमान खानका पिता सलिमलाई उपचारका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीन्युजले समाचारमा उल्लेख गरेको छ। आधिकारिकताका लागि बीबीसी हिन्दीले लीलावती अस्पताललाई सम्पर्क गर्दा अस्पतालले पनि खबरको पुष्टि गरेको समाचारमा उल्लेख गरेको छ।
सलिम खानलाई आईसीयूमा भर्ना गरिएको छ। चिकित्सकको टोलीले उनको उपचार निरन्तर गरिरहेको छ।

बुबा सलिम खानका साथमा बलिउड अभिनेता सलमान खान। फाइल तस्बिर
अहिले सलिमकी छोरी अलविरा, अलविराका छोरा अयान र ज्वाइँ आयुष शर्मा (छोरी अर्पिताका पति) पनि अस्पताल पुगेका छन्। सलमान खान केही समयअघि अस्पतालबाट निस्किरहेको देखिएको पनि भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन्।
७० र ८० को दशकमा सलिम खानले जावेद अख्तरसँग मिलेर अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादों कि बारात, जंजीर, हाथ की सफाइ, शोले, दिवार, चाचा भतिजा, त्रिशूल, डन, काला पत्थर, शरणजस्ता चलचित्रका कथा लेखेका थिए।