धनुषा। भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत कर्मचारीले सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा मंगलबार ‘पेनडाउन’ गरेका छन्।
कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पार्नुका साथै घटनाको निष्पक्ष तथा शीघ्र छानबिनको माग गरेका छन्। पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर यादवको आइतबार राति मलंगवा नगरपालिका १० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।
यस घटनापछि प्रदेशभरिका प्राविधिक र प्रशासनिक कर्मचारी आन्दोलित बनेका छन्। आन्दोलनमा सहभागी कर्मचारीले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भइरहेको आक्रमणले कार्यस्थलको सुरक्षा कमजोर भएको बताए।
साथै, दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। कर्मचारीका विभिन्न सङ्घसङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ।