काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
अ+
अ-

तानसेन। जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् ।

बिहानदेखि साँझसम्म निर्वाचन सुरक्षाका लागि तालिम तथा प्रशिक्षणमा खटिएका निर्वाचन प्रहरीले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

निर्वाचन सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यका लागि रक्तदान गरेको तालिममा सहभागी निर्वाचन प्रहरी कमल भट्टराईले बताए । उनले भने “निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको छ, त्यसमाथि पनि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी छु ।”

निर्वाचन प्रहरीको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो । नागरिकको सुरक्षासँगै नागरिकको जीवन बचाउनु प्रहरीको धर्म हो । निर्वाचन प्रहरीले देखाएको यो मानवीय भावनाले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए । निर्वाचन प्रहरीले रक्तदानमा देखाएको सक्रियताले समुदाय र प्रहरीको आपसी सहकार्यबाट शान्तिपूर्ण समाज निर्माणको बाटो देखाएको उनको भनाइ छ ।

यहाँ लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पताल गरी तीनवटा ठूला अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा दैनिक हुने जटिल शल्यक्रिया, सुत्केरी र विभिन्न सडक दुर्घटनाका घाइतेको उपचारका लागि रगतको माग उच्च हुने गरेको छ । जिल्लामा रगत व्यवस्थापनका लागि यहाँस्थित रेडक्रसले गत भदौदेखि तानसेनमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।

केन्द्रका अनुसार पाल्पामा दैनिक १० युनिट, मासिक तीन सय युनिट र वार्षिक रूपमा करिब तीन हजार ६०० युनिट रगत आवश्यकता पर्दछ । यस्तो अवस्थामा सुरक्षाकर्मीले गरेको यो योगदानले रगतको अभाव टार्न ठूलो सहयोग पुर्‍याएको जिल्ला रेडक्रसका कार्यालय प्रमुख विनोद भारतीले बताए ।

“निर्वाचन प्रहरीले रगतको अभावमा छट्पटाइरहेका बिरामीका लागि ‘जीवनदाता’ बनेर नयाँ पहिचान बनाएका छन् । यहाँका २५ जना निर्वाचन प्रहरीले रक्तदान गरेका हुन्”, उनले भने ।