कास्की। आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ।
पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा ६ पटकका च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो।
खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पाँच/पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो।
मनाङका कप्तान सबिन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो। टाइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चाम्लिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्युरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे।
यसैगरी मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे। सहारा अन्तिमपटक २०७३ सालमा फाइनल पुगेको थियो। त्यसबेला फाइनलमा मनाङसँगै सहारा पराजित भएको थियो। त्यसयता सहारा फाइनल पुग्न सकेको थिएन।
प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ।
गत २७ माघदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही ९ फागुनमा हुनेछ। प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेता टोलीले सात लाख एक हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने र अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन्।