काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
रुकुमपूर्वमा चुनावी अभियानअन्तर्गत घरदैलोमा व्यस्त नेकपा संयोजक पुष्पकमल दाहाल। तस्बिर : दाहालको सचिवालय
अ+
अ-

रुकुमपूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा भएको अन्तर्क्रियामा उनले भने‚ “रुकुमपूर्व मेरा लागि नयाँ ठाउँ होइन। म ४१ वर्षपहिले नै यहाँ आएको थिएँ। रुकुम-रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ।” उनले सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भिङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा जनयुद्धकालीन स्मृति सम्झँदै रुकुम-रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको दाबी गरे।

दाहालले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे। चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले २३ भदौको घटनामा युवाको हत्या गर्ने शक्ति, २४ भदौमा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्तिबीच जनमत संग्रह हुने उल्लेख गरे। उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए। “यो निर्वाचन राष्ट्रका लागि महत्त्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ,” उनले भने।