काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धिको सपना, समावेशिताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताएका छन्।
फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको उल्लेख गरेका छन्। विसं २००७ को ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको गौरवमय दिनका उनले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
“२६ कात्तिक २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी मार्ग प्रशस्त गरेको थियो,” सभापति थापाले उल्लेख गरेका छन्, “मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो । प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको बलियो आधार पनि यही दिनले निर्माण गर्यो।”
उनले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकार लागि पटक पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनमा अनेकौ सपुतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन्।
सभापति थापाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रूपान्तरण गर्न सक्यौँ भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने सहिदहरूप्रति सच्चा सम्मान प्रकट हुने बताएका छन्।
लोकतन्त्र स्थापना र पुनःस्थापनाको संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै सभापति थापाले उनीहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गरेका छन्।