रोल्पा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुने बताएका छन्।
रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने दाबी गरे। कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिँड्नेहरूले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ। रास्वपाका नेता बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै उनले काठमाडौँमा संघीयताको विरोध गर्ने र जनकपुर पुगेर संघीयता चाहिन्छ भन्ने? काठमाडौंबाट सुकुम्बासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्बासीको पक्षमा काम गर्छु भन्ने? जस्ता असंगत अभिव्यक्ति दिएको भन्दै प्रतिप्रश्न गरेका छन्।
उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न पनि आग्रह गरे। “काठमाडौँमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने। काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरू र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौँ भन्ने,” पुनले भने, “जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने पपुलिस्ट राजनीति घातक छ। हामी नयाँ हौँ भन्ने साथीहरूलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु।”
उनको भनाइ बालेन्द्रप्रति लक्षित भए पनि नाम उच्चारण भने गरेनन्। यद्यपि वर्तमान संघीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गर्ने स्पष्ट प्रतिबद्धता तथा गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबीचको खाडल पुरेर समानता कायम गर्ने एजेन्डामा समहत भए नयाँ भनिएका दलसँग सहकार्यका लागि तयार रहेको उनको भनाइ छ। “हामी नयाँसँग काम गर्न तयार छौँ। तर, अहिलेको उपलब्धि खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धि जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौँ।”
पुनले विचार, राजनीति र एजेन्डाले नेकपा नयाँ दल भएको दाबी गरे। आफूहरु यथास्थितिवादी तथा नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी नभएको बताए। ‘विचारले नयाँ, राजनीतिले नयाँ, एजेन्डाले नयाँ हामी हौँ,” उनले भने, “यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौँ हामी। जनताले बुझ्नुपर्ने विषय यो छ।”
असामान्य अवस्थामा चुनाव हुन लागेको चर्चा गर्दै पुनले एकथान संसद् र एकथान सरकार चुन्न चुनाव हुँदै छैन भन्ने बुझेर मतदान गर्न मतादातालाई अपिलसमेत गरे।