गण्डकी। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी ढुङ्गेपाटनमा सम्पन्न समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गराए ।
दीक्षान्त समारोहमा छ दशक लामो राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभव सँगाल्नुभएकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा रहेको थियो । दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधिबाट दुुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको २१औँ विश्वविद्यालय सभाको विशेष बैठकले उपाधिका लागि योग्य विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरेको थियो ।
उक्त अवसरमा प्रधानमन्त्री कार्कीले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गरेकी थिइन् । उक्त अवसरमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित भएका थिए ।
विसं २०५४ मा स्थापित विश्वविद्यालयमा हाल ३७ हजार ५९३ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालय ९पाँच आङ्गिक, तीन संयुक्त आङ्गिक र ५८ सम्बन्धन प्राप्त० मार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।