भद्रपुर। परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन ।
मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेसिइन् । कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उनको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको लडाइँको दस्ताबेज बनेर स्वदेश फर्किएको छ ।
सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थालेकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गरिन् । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर उनको उमेर २५ वर्ष नपुग्दै श्रीमान्को निधन भयो । श्रीमान् गुमाउँदा सीताले केवल जीवनसाथी मात्र गुमाइनन्, उपचारका क्रममा लागेको ऋण पनि उनकै काँधमा आइपर्यो ।
श्रीमान्को मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी सीतामाथि आयो । स–साना छोराछोरी, सासू–ससुरा र घरखर्च—सबै एक्लैले धान्नुपर्ने अवस्था आयो । नेपालमै मजदुरी गरेर ऋण तिर्न र परिवार पाल्न सम्भव नदेखिएपछि उनले परदेश जाने कठिन निर्णय लिइन् । आफन्तको सहयोगमा भारतको बाटो हुँदै भिजिट भिसामा २०६२ सालतिर सीता कुवेत पुगिन् । कुवेत जान करिब २० हजार रुपैयाँ खर्च भएको थियो, जुन रकम जुटाउन नै उनलाई सङ्घर्ष गर्नुपरेको थियो ।
कुबेतमा सीताले घरेलु कामदारका रूपमा काम सुरु गरिन् । मासिक करिब आठ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउँथिन्। तर परदेशी जीवन उनका लागि सहज थिएन । बिहानदेखि रातिसम्म निरन्तर काम गर्नुपर्ने, पर्याप्त आरामको अभाव, भाषागत कठिनाइ र असुरक्षित कार्य वातावरणसँग उनले दिनहुँ जुधिरहनुपर्यो । आफ्नो दुःख व्यक्त गर्ने ठाउँ र भरोसाको आधार नहुँदा मानसिक रूपमा पनि उनी कमजोर बन्दै गइन् । राम्रो साहु नपर्दा गालीगलौज, अपमान र मानसिक तनाव सहनु परेको अनुभव सीता सुनाउँछिन् । यस्ता कठिन परिस्थितिबीच पनि उनले हार मानिनन् । चार वर्षसम्मको कुवेत बसाइँमा भोगिएका पीडा र सङ्घर्षकैबीच श्रीमान्को उपचारका क्रममा लागेको ऋण तिर्न भने उनी सफल भइन् ।
ऋण तिरेर नेपाल फर्केपछि सीताले स्वदेशमै बस्ने योजना बनाइन् । परिवारसँगै बसेर छोराछोरीको हुर्काइ र शिक्षामा ध्यान दिने उनको चाहना थियो । तर समयसँगै छोराछोरी हुर्कँदै गए र उनीहरूको शिक्षा–दीक्षा, खानपान तथा दैनिकीका खर्च क्रमशः बढ्दै गयो । दैनिक जीवन चलाउनकै लागि पनि आर्थिक दबाब बढ्दै जाँदा परिवारको दायित्व घट्नुको सट्टा झन् थपिँदै गयो । नेपालमै सीमित आम्दानीका स्रोतले ती सबै जिम्मेवारी धान्न कठिन भएपछि सीता फेरि पनि परदेशकै बाटो रोज्न बाध्य भइन् । यस पटक भने उनले अघिल्ला अनुभवबाट सिक्दै मेनपावरमार्फत कानुनी प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । सोही क्रममा २०६८ सालमा ६० हजार रुपैयाँ खर्चेर सीता मेनपावर कम्पनीमार्फत लेबनान पुगिन् ।
लेबनानमा उनको काम एक वृद्ध आमाको हेरचाह गर्ने थियो । काम तुलनात्मक रूपमा सहज थियो र मासिक करिब १५ हजार नेपाली रुपैयाँ जति पारिश्रमिक पाउँथिन् । सीता स्थिर आम्दानी र कामको सहजताले उनी केही सन्तुष्ट थिइन् । तीन वर्षसम्म लेबनानको बसाइँ सामान्य रूपमा चलिरहेको थियो । तर जीवनले फेरि उनलाई ठूलो पीडा दियो । लेबनानमै काम गरिरहेको अवस्थामा नेपालबाट आएको खबरले सीताको जीवन फेरि बदलियो । उनका किशोर छोरा घरमै असामयिक निधन भएको खबर आयो ।
यो खबर सीताको जीवनकै सबैभन्दा ठूलो आघात बन्यो । आमाका लागि सन्तान गुमाउनु शब्दले व्यक्त गर्न नसकिने पीडा हो । परदेशमा बसेर सुनेको यो दुःखद समाचारले उनलाई गहिरो मानसिक चोट पुर्यायो । तीन वर्षे लेबनान बसाइँ पूरा हुन नपाउँदै सीता सबै काम छोडेर नेपाल फर्किइन् । घर फर्किएपछि केही समय उनी स्वदेशमै बसिन् । शोकको पीडा, परिवारको अवस्था र बाँकी जिम्मेवारी सम्हाल्ने प्रयासमै उनका दिन बित्न थाले । छोराको असामयिक निधनको पीडाले मन भारी रहँदा पनि जीवन चलाउनुपर्ने बाध्यता टरेन । यही क्रममा आर्थिक अभाव फेरि पनि उनको जीवनमा उपस्थित भयो, जसले सीतालाई पुनः कठिन निर्णयतर्फ धकेल्ने परिस्थिति सिर्जना गर्यो ।
दुई वर्षपछि सीता पुनः मेनपावरमार्फत साउदी अरब पुगिन् । साउदीमा उनले अस्पतालमा क्लिनरका रूपमा काम गरिन् । कामको प्रकृति शारीरिक रूपमा मेहनतिलो थियो र लामो समयसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहन्थ्यो । पाँच वर्षसम्म लगातार काम गर्दा परिवारको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुँदा आफ्नो स्वास्थ्यप्रति भने पर्याप्त ध्यान दिन नसकेको उनी बताउछिन् । यही क्रममा घाँटीमा समस्या देखापर्यो ।
प्रारम्भमा सामान्य समस्या ठानेर बेवास्ता गरिए पनि समस्या बढ्दै गएपछि साउदीमै चार महिना उपचार गराइन् तर उपचारबाट अपेक्षित सुधार हुन सकेन । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्ततः उनी नेपाल फर्किइन् । नेपाल आएपछि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा उनलाई दोस्रो चरणको घाँटीको क्यान्सर भएको पुष्टि भयो, जसले सीताको जीवनमा अर्को ठूलो चुनौती थपिदियो ।
क्यान्सरको खबरले सीताको जीवनमा अर्को ठूलो चुनौती थपियो । उपचारका क्रममा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अझै पनि नियमित उपचार र ‘फलोअप’ का लागि भरतपुर धाउनुपर्ने अवस्था छ । सीमित आम्दानी र स्रोतका बीच थोरै बचत, ऋण तथा आफन्तको सहयोगमा उनले उपचारलाई निरन्तरता दिइन् । शारीरिक पीडा, मानसिक तनाव र आर्थिक दबाबका बाबजुद पनि उनले हार मानिनन् । लामो सङ्घर्षपछि उनी क्यान्सरमाथि विजय पाउन सफल भइन् । तर उपचारमा लागेको ठूलो खर्च र निरन्तर स्वास्थ्य हेरचाहको आवश्यकताले उनको जीवन अझै पनि पूर्ण रूपमा सहज बन्न सकेको छैन ।
मेचीनगर नगरपालिकाले आयोजना गरेको एक अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदा मात्रै सीताले वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाउन सकिने जानकारी पाइन् तर उनका लागि आवेदन गर्ने समयसीमा गुज्रिसकेको थियो । ‘यो जानकारी मलाई समयमै किन कसैले दिएन रु’ भन्ने प्रश्न आज पनि उनको मनमा घुमिरहन्छ । यद्यपि, वैदेशिक रोजगार म्यादी बीमाबाट भने सीताले गम्भीर बिरामी बापतको केही रकम पाउन सफल भइन् ।
हाल सीता थापामगर मेचीनगर–८ मै रहेको दुई कट्ठा जमिनमा बनेको सानो घरमा बसोबास गर्दै आएकी छन् । उनकी कान्छी छोरी हाल रोजगारीका लागि युएईमा छिन् । छोरीकै आम्दानीले अहिले उनको उपचार र दैनिकी चलेको छ । ‘विदेश जानु कसैको रहर होइन, बाध्यता हो,’ सीता भन्छिन्, ‘तर विदेश जानुअघि धेरै सोचविचार गर्नुपर्छ, आफ्नो स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।’ सीताको जीवन कथा केवल एउटी महिलाको सङ्घर्षको कथा होइन । यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो । युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग, पीडा र आर्थिक अभाव बोकेर स्वदेश फर्किनुपर्ने बाध्यता धेरै नेपालीले भोगिरहेका छन् । सूचना र पहुँचको अभावले उनीहरूको पीडा अझ गहिरो बनेको छ ।
सीता थापामगरको कथा वैदेशिक रोजगारीको चम्किलो पक्षभन्दा परको वास्तविकता हो । ऋण तिर्न परदेश जानुभएकी सीता आफैँ रोगी भएर फर्किन बाध्य भइन् । उनको अनुभवले राज्य, समाज र सरोकारवालालाई गम्भीर प्रश्न सोधिरहेका छ– वैदेशिक श्रमिकका लागि समयमै सूचना, स्वास्थ्य सुरक्षा र उपचार सहयोग कति प्रभावकारी छ ? सीताको जीवनले एउटा सन्देश दिन्छ–वैदेशिक रोजगारी समाधान मात्र होइन, जिम्मेवारी पनि हो । श्रमिकको श्रमसँगै उसको स्वास्थ्य, सुरक्षा र भविष्यको प्रत्याभूति राज्यले गर्न सके मात्र परदेशको पसिना अर्थपूर्ण बन्न सक्छ । नत्र, सीता थापामगरजस्ता श्रमिकका कथाहरू बाध्यताको इतिहास बनेर पुस्तौँसम्म दोहोरिइरहनेछन् ।