काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः धम्की दोहोर्याएका छन् । वासिंगटनसँग सम्झौता गर्न तेहरानसँग करिब १० देखि १५ दिनको समय रहेको, अन्यथा थप सैन्य आक्रमणको सामना गर्नुपर्ने उनको संकेत छ ।
बिहीबार वासिंगटन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’को उद्घाटन बैठकमा ट्रम्पले गत वर्षको जुनमा इरानविरुद्ध गरिएको संयुक्त इजरायली–अमेरिकी आक्रमणले नै गाजामा युद्धविरामको बाटो प्रशस्त गरेको तर्क गरे ।
ट्रम्पले यदि, इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमण नभएको भए इरानको खतराका कारण यस क्षेत्रका देशहरू शान्ति कायम गर्न सहमत नहुने तर्क गरे ।
NMB Bank
ट्रम्पले भने, “त्यसैले अब हामीले यसलाई एक कदम अगाडि लैजानुपर्ने हुन सक्छ । सायद, हामी एउटा सम्झौता गर्नेछौँ । तपाईंहरूले आगामी १० दिनभित्र यसबारे थाहा पाउनुहुनेछ ।”
ट्रम्पको यो टिप्पणी अमेरिका र इरानबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता भएको केही दिनपछि आएको हो ।
बुधबार इरानका विदेशमन्त्री अब्बास आराघचीले जेनेभामा भएको वार्तामा दुवै पक्षले कठिन वार्तामा राम्रो प्रगति गरेको बताएका थिए ।
तर, अमेरिकाले खाडी क्षेत्रमा दुईवटा विमानवाहक पोत र दर्जनौँ लडाकु विमानसहित आफ्ना सैन्य स्रोतहरू परिचालन गरिरहेको छ । अलजजिरा