९ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। अभिक शाह र अनिश प्रसाईंको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ। भक्तपुरस्थित रिडर्स हबमा शनिबार भएको प्रतियोगिताको फाइनलमा इलाम हाइटलाई पराजित गर्दै सान्टाले सफलता हात पारेको हो।

‘बगहाउस फर्म्याट’ मा सञ्चालित प्रतियोगिता पाँच चरणमा लिगका शीर्ष चार टिमले उपाधि होडमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। लिगमा १९४८ रेटेड अभिक नेतृत्वको सान्टा जेभियरले शतप्रतिशत जितसहित शीर्षस्थान हासिल गर्यो। निहाना श्रेष्ठ र रिदम थापाको टिम मार्भलस चार जितसहित दोस्रो भयो।

सुरेन्द्रकुमार राई र रवीन्द्र श्रेष्ठको टिम इलाम हाइट तेस्रोमा रह्यो। बराबरी अंकपछि त्रियोग हाइस्कुललाई प्ले-अफमा हराएर प्याट्रियटिक पनले पनि शीर्ष चारमा स्थान बनायो। तर प्रवीर केसी र पर्ल श्रेष्ठ सम्मिलित प्याट्रियटिक पनलाई सेमिफाइनलमा रोक्दै सान्टा जेभियर फाइनल पुगेको थियो। अर्को सेमिफाइनलमा होटल इलाम हाइटले टिम मार्भलसलाई पराजित गरेको थियो।

हिमालयन चेस एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा प्रत्येक टिममा फिडे रेटेड एक खेलाडीलाई मात्रै समावेश गरिएको थियो। विजेता सान्टा जेभियरले सात हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्यो। उपविजेता इलाम हाइटले पाँच हजार र मेडल तथा तेस्रो भएको टिम मार्भलसले तीन हजार र मेडल प्राप्त गरे। प्रतियोगितामा १२ टिम सहभागी थिए।