काठमाडौँ। चालु आवको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँबराबरको निर्यात भएको छ। यो अवधिमा मुलुकले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख रुपैयाँको घाटा बेहोरेको छ।
भारतसँग बितेका सात महिनामा ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाख रुपैयाँको आयात र एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाख रुपैयाँको निर्यात हुँदा मुलुकले चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाख रुपैयाँको आयात र ९० करोड एक लाख रुपैयाँबराबरको निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख रुपैयाँबराबरको घाटा भएको छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख रुपैयाँबराबरको व्यापार घाटा देखिन्छ।
व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा पाँच करोड ५२ लाख रुपैयाँ, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्यान्डसँग दुई करोड ५७ लाख रुपैयाँबराबरको व्यापार नाफा देखिन्छ।
पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। यो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाख रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भएको छ।
यसैगरी ३१ अर्ब नौ करोड १२ लाख रुपैयाँबराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख रुपैयाँबराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख रुपैयाँबराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड रुपैयाँबराबरको सुन आयात भएको छ।
बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँबराबरको निर्यात भएको छ। अलैँची आठ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सूर्यमुखी तेल पाँच अर्ब ७८ करोड रुपैयाँ, कार्पेट पाँच अर्ब ७१ करोड ८८ लाख ६९ हजार रुपैयाँबराबरको निर्यात भएको विभागको तथ्यांक छ।